भारतसँग ऐतिहासिक सहमति भयोः अर्थमन्त्री वाग्ले

भारतसँग ऐतिहासिक सहमति भयोः अर्थमन्त्री वाग्ले


काठमाडौं । अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले भैरहवा हवाई रुटलाई दुईतर्फी बनाउने विषयमा भारतसँग ऐतिहासिक सहमति भएको बताएका छन् ।

मंगलबार सिंहदरबारमा बसेको प्रतिनिधिसभाको अर्थ समितिको बैठकमा उनले १० देखि १२ वर्षदेखिको प्रयासपछि यस्तो सहमति जुटेको जानकारी दिएका हुन् ।

उनले यसलाई नेपालको ठूलो कूटनीतिक उपलब्धि र ऐतिहासिक ब्रेकथ्रुका रूपमा व्याख्या गरे । यसबाट भैरहवा अन्तर्राष्ट्रिय विमानस्थल हुँदै लुम्बिनीलगायत क्षेत्रको अन्तर्राष्ट्रिय हवाई उडान सहज हुने अपेक्षा गरिएको छ ।

वाग्लेले आगामी दिनमा महेन्द्रनगर, जनकपुरलगायत नाकाबाट पनि हवाई रुट विस्तार गरी थप अन्तर्राष्ट्रिय सहरसँग हवाई सम्पर्क बढाउने सरकारको योजना रहेको बताए ।

बैठकमा उनले बागडोगरासँग जोडिएको १२५ किलोमिटर भूमिसम्बन्धी विषय भ्रामक हल्ला मात्रै भएको स्पष्ट पारे ।
सुनकोशी–सप्तकोशी हाइ ड्याम र सुनकोशी स्टोरेज कम डाइभर्सन योजनाबारे अध्ययन तथा विस्तृत परियोजना प्रतिवेदन ९डीपीआर० तयार गर्ने म्यान्डेटअनुसार काम भइरहेको उनको भनाइ थियो ।

त्यस्तै, भारतबाट प्राप्त हुने ५६ अर्ब रुपैयाँ अनुदान र १८४ अर्ब रुपैयाँ सहुलियतपूर्ण ऋण विशेषगरी ऊर्जा तथा प्रसारण लाइन क्षेत्रमा परिचालन गर्न सकिने उनले बताए ।

विगतमा अमेरिकी डलरमा ऋण लिँदा विनिमय दर परिवर्तनका कारण दायित्व बढ्ने समस्या देखिएको उल्लेख गर्दै वाग्लेले यसपटक भारतीय रुपैयाँमै ऋण लिने र भुक्तानी गर्ने विकल्पसमेत खुला गरिएको जानकारी दिए ।