काठमाडौं । नेपाली कांग्रेसका सभापति गगन थापाले एउटै पार्टीको नाममा दुईवटा महाधिवेशन हुन नसक्ने बताएका छन् ।
मंगलबार केन्द्रीय समिति बैठकमा बोल्दै थापाले असोज १८ देखि २२ गतेसम्म १५औँ महाधिवेशन सम्पन्न भइसकेकाले अब कांग्रेसकै नाममा अर्को महाधिवेशन गर्न नमिल्ने बताएका हुन् ।
उनले पूर्वसभापति शेरबहादुर देउवा पक्षले मंसिर २१ देखि २३ गतेसम्म गर्न लागेको महाधिवेशनलाई लक्षित गर्दै त्यसमा सहभागी हुने नेता तथा कार्यकर्तालाई नयाँ पार्टीमा जाने भए राजीनामा दिन आग्रह गरे ।
राष्ट्रिय सभा, प्रतिनिधिसभा, प्रदेश सभा र स्थानीय तहमा कांग्रेसको चुनाव चिह्नबाट निर्वाचित भएका जनप्रतिनिधि अर्को पार्टीमा लागे पदबाट राजीनामा दिनुपर्ने उनको भनाइ थियो । राजीनामा नदिए विधानअनुसार कारबाही हुने उनले स्पष्ट पारे ।
‘तपाईं राष्ट्रिय सभा, प्रतिनिधि सभा, प्रदेश सभा वा स्थानीय तहमा हुनुहुन्छ भने अधिवेशनमा आउनुभयो वा आउनुभएन फरक पर्दैन। तर तपाईंले कांग्रेस छाडेर अर्को नयाँ पार्टीमा जानुभयो भने आफू जुन सभामा हुनुहुन्छ, त्यहाँबाट राजीनामा गर्नुहोला, गर्नुभएन भने विधानले गर्छ,’ थापाले भने ।
उनले आफू कसैलाई पार्टीबाट निकाल्ने पक्षमा नरहेको पनि बताए । तर एकै व्यक्ति कांग्रेस र अर्को पार्टीको सदस्य हुन नसक्ने भन्दै विधान कार्यान्वयन गर्नु आफ्नो जिम्मेवारी भएको उनको भनाइ थियो ।
‘अब हुने नेपाली कांग्रेसको अधिवेशन होइन, एकै पार्टीको दुई अधिवेशन हुन सक्दैन,’ थापाले भने ।

प्रतिक्रिया