काठमाडौं । प्रधानमन्त्री नरेन्द्र मोदीको अध्यक्षतामा शुक्रबार बसेको केन्द्रीय मन्त्रिपरिषद् बैठकले भारतका सबै राज्यमा लोकसभाका सिट संख्या ५० प्रतिशतले बढाउने प्रस्ताव अनुमोदन गरेको छ ।
प्रस्तावअनुसार बढाइएको सिट संख्या सन् २०५१ सम्म कायम रहनेछ ।
नोभेम्बर ३० देखि सुरु हुने संसद्को विशेष अधिवेशनअघि मन्त्रिपरिषद्ले यस्तो निर्णय गरेको हो । उक्त अधिवेशनमा सरकारले निर्वाचन क्षेत्र पुनर्निर्धारणसँग जोडिएको महिला आरक्षण विधेयकमा संशोधन प्रस्ताव अघि बढाउने तयारी गरेको छ ।
लोकसभाको सिट संख्या बढाउने प्रस्ताव निर्वाचन क्षेत्र पुनर्निर्धारणले राज्यहरूको प्रतिनिधित्वमा पार्न सक्ने प्रभावबारे उठेका चिन्ता सम्बोधन गर्ने सरकारको प्रयासका रूपमा हेरिएको छ । विशेषगरी दक्षिण भारतका राज्यहरूको प्रतिनिधित्वमा पर्न सक्ने असरबारे चिन्ता व्यक्त हुँदै आएको छ ।
यसअघि सरकारले सबै राज्यमा लोकसभाका सिट संख्या ५० प्रतिशतले बढाउने तर सन् १९७१ को जनगणनाका आधारमा कायम अन्तरराज्यीय सिट अनुपात भने यथावत् राख्ने विकल्पबारे छलफल गरिरहेको समाचार सार्वजनिक भएको थियो ।
प्रधानमन्त्री मोदीको अध्यक्षतामा बसेको मन्त्रिपरिषद् बैठक दिउँसो १ बजे सेवा तीर्थमा बोलाइएको थियो । बैठकमा सबै मन्त्रीलाई उपस्थित रहन भनिएको स्रोतलाई उद्धृत गर्दै एएनआईले जनाएको छ ।
सरकारले लोकसभा र राज्यका विधानसभामा महिलाका लागि ३३ प्रतिशत आरक्षण सुनिश्चित गर्ने यसअघिको कानुनमा संशोधन गर्ने तयारी गरिरहेको छ ।
गत अप्रिलमा लोकसभाबाट संविधान (१३१औँ संशोधन) विधेयक, २०२६ पारित हुन नसकेपछि सरकारले संशोधनको तयारी थालेको हो ।
यसअघिको विधेयकले महिला आरक्षण कार्यान्वयनलाई निर्वाचन क्षेत्र पुनर्निर्धारणसँग जोडेको थियो । साथै, लोकसभाको हालको ५४३ सिट संख्या बढाएर अधिकतम ८५० पुर्याउने प्रस्ताव गरेको थियो ।
संसद्को विशेष अधिवेशन नोभेम्बर ३० मा लोकसभाको बैठकबाट सुरु हुनेछ भने राज्यसभाको बैठक डिसेम्बर २ देखि बस्नेछ । सरकारी कार्यसूचीअनुसार अधिवेशन डिसेम्बर ३ मा सकिने अपेक्षा गरिएको छ ।

प्रतिक्रिया