काठमाडौं । नेकपा एमालेका अध्यक्ष तथा पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले भदौ २४ गते आफूलाई हिंसात्मक गतिविधिमार्फत प्रधानमन्त्रीबाट अपदस्थ गरिएको दाबी गर्दै त्यसबेला राज्यका सुरक्षा संयन्त्रले साथ नदिएको आरोप लगाउनुभएको छ।
सम्पादकहरूसँगको अन्तरक्रियामा अध्यक्ष ओलीले भदौ २३ र २४ गतेका घटनालाई पूर्वयोजनासँग जोड्दै सम्भावित जोखिमबारे जानकारी पाएको भए पनि राज्य संयन्त्रबाट सहयोग नपाएको गुनासो गर्नुभएको हो।
बङ्गलादेश र श्रीलङ्काका घटनाको उदाहरण दिँदै नेपालमा पनि त्यस्तै परिस्थिति निर्माण गर्ने तयारी पहिलेदेखि नै रहेको दाबी गर्दै उहाँले संसदीय प्रक्रियाबाट सरकार परिवर्तन हुनु लोकतान्त्रिक अभ्यास भए पनि हुल्लडबाजी र आगजनीबाट सत्ता परिवर्तन गर्नु लोकतान्त्रिक विधि नभएको स्पष्ट पार्नुभयो।
साथै तत्कालीन राष्ट्रपति रामचन्द्र पौडेल र प्रधानसेनापति अशोकराज सिग्देलसँगको संवाद स्मरण गर्दै आफूले संविधानभित्रैबाट समाधान खोज्न सुझाव दिएको ओलीको भनाइ छ।

प्रतिक्रिया