किम जोङ उनले चीन भ्रमण गर्न सक्ने संकेतपछि दक्षिण कोरियाले बढायो निगरानी

किम जोङ उनले चीन भ्रमण गर्न सक्ने संकेतपछि दक्षिण कोरियाले बढायो निगरानी


काठमाडौं । दक्षिण कोरियाको गुप्तचर निकायले उत्तर कोरियाली नेता किम जोङ उनले चीन भ्रमण गर्न सक्ने सम्भावनाबारे विभिन्न गतिविधिमाथि निगरानी बढाएको जनाएको छ ।

शनिबार (नोभेम्बर २८) दक्षिण कोरियाली गुप्तचर निकायले सम्भावित चीन भ्रमणबारे सार्वजनिक भएका समाचारपछि त्यससँग सम्बन्धित ‘विभिन्न घटनाक्रम’ निगरानी गरिरहेको जनाएको हो ।

चीन उत्तर कोरियाको सबैभन्दा ठूलो व्यापारिक साझेदार हो । साथै, प्योङयाङका लागि कूटनीतिक, आर्थिक र राजनीतिक सहयोगको महत्त्वपूर्ण स्रोत पनि हो । यद्यपि, दुई देशबीचको सम्बन्ध सधैँ सहज भने रहँदै आएको छैन ।

किमले गत अक्टोबरमा चीनको सीमावर्ती सहर दान्दोङको एकदिने आकस्मिक भ्रमण गरेका थिए । त्यस क्रममा उनले चीन र आणविक हतियारसम्पन्न उत्तर कोरियालाई जोड्ने प्रमुख पुल पार गरेका थिए । उक्त पुललाई दुई देशबीच गहिरिँदो आर्थिक सम्बन्धको प्रतीकका रूपमा हेरिन्छ ।

दक्षिण कोरियाली प्रसारक केबीएसले एक कूटनीतिक स्रोतलाई उद्धृत गर्दै यसै महिनाको सुरुतिर भएको शिखर सम्मेलनमा चिनियाँ राष्ट्रपति सी चिनफिङले आफ्ना दक्षिण कोरियाली समकक्षी ली जे म्युङलाई किमले चीन भ्रमण गर्न सक्ने जानकारी दिएको जनाएको छ ।

अर्को एक सरकारी स्रोतलाई उद्धृत गर्दै केबीएसले चीनको सीमावर्ती सहर दान्दोङमा ‘आपत्कालीन आदेश’ जारी गरिएको पनि उल्लेख गरेको छ । किमको गत अक्टोबरको भ्रमणका बेला गरिएको व्यवस्थासँग यो मिल्दोजुल्दो रहेको समाचारमा जनाइएको छ ।

यस समाचारबारे सोधिएको प्रश्नमा दक्षिण कोरियाली गुप्तचर निकायले शनिबार एएफपीलाई आफूले ‘विभिन्न घटनाक्रमलाई नजिकबाट नियालिरहेको’ बताएको छ ।

दक्षिण कोरियाको राष्ट्रपति कार्यालयले भने सीले केबीएसको समाचारमा उल्लेख गरिएजस्तो कुनै कुरा नगरेको स्पष्ट पारेको छ । साथै, उत्तर कोरिया र चीनबीचको सम्बन्धमा भइरहेका घटनाक्रमलाई सरकारले नजिकबाट निगरानी गरिरहेको जनाएको छ ।

संयुक्त राष्ट्रसंघको लामो समयदेखिको प्रतिबन्धका बाबजुद उत्तर कोरियाले आफूलाई कानुनमै आणविक हतियारसम्पन्न राष्ट्रका रूपमा स्थापित गरेको छ । त्यहाँको सरकारले आफ्नो आणविक हतियार भण्डार स्थायी र अपरिवर्तनीय रहेको घोषणा गर्दै आएको छ ।

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले पटकपटक वार्ताको प्रस्ताव गरे पनि किमले त्यसलाई बेवास्ता गर्दै आएका छन् । ट्रम्पले किमसँगको सम्भावित भेटवार्ता चिनियाँ राष्ट्रपति सीको निर्णयमा निर्भर रहेको बताएका छन् ।

विज्ञहरूका अनुसार उत्तर कोरियाले अमेरिकासँग वार्ता गर्नुअघि आफूलाई आणविक हतियारसम्पन्न राष्ट्रका रूपमा मान्यता दिनुपर्ने माग गरिरहेको छ । उनीहरूका अनुसार यस्तो मान्यता दिनु अमेरिकाका लागि जटिल कूटनीतिक तथा सुरक्षा चुनौती बन्न सक्छ । अमेरिका दक्षिण कोरियाको प्रमुख सहयोगी राष्ट्र हो ।

विज्ञहरूका अनुसार चीन भ्रमणका क्रममा किमले हालै सम्पन्न अमेरिका–चीन वार्ता र प्योङयाङको अर्को महत्त्वपूर्ण सहयोगी रुससमेत सहभागी त्रिपक्षीय शिखर सम्मेलनको निष्कर्षबारे सीसँग छलफल गर्ने अवसर पाउन सक्छन् ।