भारत-पाकिस्तानको सीमाले रोक्न सकेन प्रियजनलाई भेट्ने इच्छा, तर नदीमा डुबे इरफान

भारत-पाकिस्तानको सीमाले रोक्न सकेन प्रियजनलाई भेट्ने इच्छा, तर नदीमा डुबे इरफान


एजेन्सी । भारत प्रशासित जम्मु–कश्मीरको बारामुला जिल्लाका इरफान हसन शाहको शव पाकिस्तान प्रशासित कश्मीरमा पर्ने नीलम नदीमा भेटिएको छ। पत्नी र छोराछोरीलाई भेट्न नदी पार गर्ने प्रयासमा रहेका इरफानको नदीमा डुबेर मृत्यु भएको आशंका गरिएको छ।

पाकिस्तानका अधिकारीहरूले नीलम नदीबाट बरामद भएको उनको शव मुजफ्फराबादमा बस्दै आएका पत्नी र छोराछोरीलाई बुझाएका छन्।

प्रशासनका अनुसार इरफान भारत प्रशासित कश्मीरको बारामुला जिल्लास्थित रफियाबाद डंगीवच्छा क्षेत्रका बासिन्दा थिए। सन् २०२५ अप्रिलमा पहलगाममा भएको आतंकवादी हमलापछि भारत सरकारले पाकिस्तानी नागरिक रहेका उनकी पत्नी र छोराछोरीलाई देश निकाला (डिपोर्ट) गरेको थियो। त्यसपछि उनीहरू पाकिस्तान प्रशासित कश्मीरको मुजफ्फराबादमा बस्दै आएका थिए। भारतीय नागरिक भएकाले इरफान भने बारामुलामै बसेका थिए।

इरफानका छोराछोरीका अनुसार बारामुलामा रहेका उनका बुबाले समय–समयमा उनीहरूसँग सम्पर्क गर्ने गर्थे। करिब १५ दिनअघि भएको अन्तिम कुराकानीमा उनले जस्तोसुकै अवरोध आए पनि पाकिस्तान प्रशासित कश्मीर पुगेर परिवारलाई भेट्ने बताएका थिए।

त्यसपछि उनीसँग सम्पर्क हुन सकेन। केही समयपछि नीलम नदीमा उनको शव भेटिएको खबर परिवारले पायो।

शव भेटिएपछि त्यसलाई भारत पठाउने कि मुजफ्फराबादमा रहेका पत्नी र छोराछोरीलाई बुझाउने भन्ने विषयमा विवाद उत्पन्न भएको थियो। इरफान भारतीय नागरिक भएकाले दुई देशबीचको सहमतिअनुसार शव भारत पठाउनुपर्ने तर्क एकातिर थियो भने अर्कोतिर पत्नी र छोराछोरीको अधिकारलाई प्राथमिकता दिनुपर्ने विषय उठेको थियो।

अन्ततः जम्मु–कश्मीरमा रहेका उनका दाजुभाइ तथा दिदीबहिनीको सहमतिपछि आवश्यक कानुनी प्रक्रिया पूरा गरेर शव परिवारलाई बुझाइएको अधिकारीहरूले बताएका छन्।

नदीमा भेटियो शव

गत नोभेम्बर २३ मा पाकिस्तान प्रशासित कश्मीरको नीलम जिल्लाका अधिकारीहरूलाई केरन क्षेत्र हुँदै बग्ने नीलम नदीमा एउटा शव देखिएको सूचना प्राप्त भएको थियो। सुरुमा अधिकारी र स्थानीय बासिन्दाले नदीको तीव्र बहावमा परेर कुनै अपरिचित व्यक्तिको मृत्यु भएको अनुमान गरेका थिए।

नीलम जिल्लाको विपद् व्यवस्थापन प्राधिकरणका प्रमुख अख्तर अयुबका अनुसार नोभेम्बर २३ बिहान करिब ११ बजे नदीबाट शव निकालिएको थियो।

विपद् व्यवस्थापन प्राधिकरणको टोलीले शारदा क्षेत्रको ‘कश्मीर बोटिङ क्लब’, पाकिस्तानी सेनाको केरन युनिट र स्थानीय प्रहरीको सहयोगमा शव नदीबाट बाहिर निकालेको थियो।

शवको खल्तीमा भारत सरकारद्वारा जारी गरिएको परिचयपत्र भेटिएपछि मृतकको पहिचान खुलेको थियो। परिचयपत्रका आधारमा उनी भारत प्रशासित कश्मीरको बारामुला जिल्लास्थित रफियाबाद डंगीवच्छा क्षेत्रका इरफान हसन शाह भएको पुष्टि भएको थियो।

त्यसपछि जिल्ला प्रशासनले मृतकको परिचयपत्र, शवको तस्वीर र अन्य विवरण सामाजिक सञ्जालमार्फत सार्वजनिक गरेको थियो। उक्त सूचना मुजफ्फराबादमा बस्दै आएका उनकी पत्नी र छोराछोरीसम्म पुगेपछि उनीहरूले प्रशासनसँग सम्पर्क गरेका थिए। उनीहरूले शव आफ्नै बुबाको भएको पहिचान गरे।

परिवार र स्थानीय अधिकारीहरूले इरफान पत्नी तथा छोराछोरीलाई भेट्न बारामुलाबाट नीलम जिल्लासम्म पुगेको हुन सक्ने अनुमान गरेका छन्। कुनै तरिकाले नीलम नदी पार गरेर परिवारसम्म पुग्न सकिने आशामा उनले जोखिम उठाएको हुन सक्ने उनीहरूको भनाइ छ।

नीलम नदीका केही भागले भारत र पाकिस्तानबीचको नियन्त्रण रेखाको कामसमेत गर्छ। परिवारका अनुसार इरफानले केही दिनअघि जसरी पनि पाकिस्तान पुग्ने बताएका थिए। नदी पार गरेर परिवारसम्म पुग्ने प्रयास गर्दा उनी तीव्र बहावमा बगेको हुन सक्ने आशंका गरिएको छ।

शव बुझाउने विषयमा तीन दिन विवाद

इरफानको शव भेटिएपछि त्यसलाई कसलाई बुझाउने भन्ने विषयमा विवाद हुँदा अन्त्येष्टिसमेत ढिलाइ भएको थियो।

भारत र पाकिस्तानबीच भएको सहमतिअनुसार एक देशका नागरिकको अर्को देशमा मृत्यु भएमा आवश्यक कानुनी प्रक्रिया पूरा गरेर शव यथाशीघ्र सम्बन्धित देशमा पठाउने व्यवस्था छ। सोही व्यवस्थाअनुसार इरफानको शव भारत पठाउने कि पाकिस्तान प्रशासित कश्मीरमा रहेका परिवारलाई बुझाउने भन्ने विषयमा निर्णय गर्नुपर्ने अवस्था आएको थियो।

नीलमका उपआयुक्तले बीबीसीलाई बताएअनुसार शवको पहिचान खुलेपछि त्यसलाई जिल्ला प्रशासनको जिम्मामा राखिएको थियो।

इरफानका तीन छोरा र पत्नी पाकिस्तान प्रशासित कश्मीरको मुजफ्फराबादमा बस्दै आएका छन्। सहायक आयुक्त अथकमाम चौधरी बशारतले बीबीसी उर्दूलाई दिएको जानकारीअनुसार भारत प्रशासित कश्मीरमा रहेका इरफानका दाजुभाइ तथा दिदीबहिनीसँग सहमति लिएपछि शव परिवारलाई बुझाउने निर्णय गरिएको थियो।

उनका अनुसार मृतकको पत्नी र छोराछोरी जीवित रहेको अवस्थामा उत्तराधिकारको अधिकारका दृष्टिले उनीहरू प्राथमिक हकदार हुने भएकाले आवश्यक स्वीकृति र कानुनी प्रक्रिया पूरा गरेर शव परिवारलाई हस्तान्तरण गरिएको हो।

अधिकारीहरूका अनुसार यो सम्पूर्ण प्रक्रिया पूरा गर्न तीन दिन लागेको थियो। त्यसपछि मुजफ्फराबादमा इरफानको अन्तिम संस्कार गरिएको थियो।

सन् १९९२ मा नियन्त्रण रेखा पार गरेर पुगेका थिए पाकिस्तान

इरफानकी पत्नीका भाइ अख्तरका अनुसार इरफान सन् १९९२ मा २० वर्षको उमेरमा नियन्त्रण रेखा पार गरेर पाकिस्तान प्रशासित कश्मीर पुगेका थिए। उनी भारत प्रशासित कश्मीरको बारामुला जिल्लास्थित रफियाबाद डंगीवच्छाका बासिन्दा थिए।

पाकिस्तान प्रशासित कश्मीर पुगेपछि उनले मीरपुर जिल्लामा अध्ययन गरेका थिए। सन् १९९८ देखि २००२ को अवधिमा उनले एफए र स्नातक तहको अध्ययन पूरा गरेका थिए।

त्यसपछि उनले विवाह गर्ने निर्णय गरे र पाकिस्तान प्रशासित कश्मीरमै घरजम गरे। मुजफ्फराबादको चकार क्षेत्रमा उनको विवाह भएको थियो।

अख्तरका अनुसार इरफान सन् २००८ सम्म पाकिस्तान प्रशासित कश्मीरमै बसे। त्यसपछि पत्नी र छोराछोरीसहित नेपाल हुँदै भारत प्रशासित कश्मीर फर्किए। त्यहाँ उनले नयाँ जीवन सुरु गरेका थिए।

इरफानकी पत्नीका अर्का आफन्त फारुक मीरका अनुसार पाकिस्तान प्रशासित कश्मीरमा रहँदा इरफानले निकै सुखद समय बिताएका थिए। विवाहपछि उनका दुई सन्तानको जन्म पनि त्यहीँ भएको थियो। उनी परिवारसँग खुसी थिए।

तर उनका आमाबुबा तथा दाजुभाइ र दिदीबहिनी भारत प्रशासित कश्मीरमै रहेकाले पाकिस्तान प्रशासित कश्मीरमा १६ वर्ष बिताएपछि उनी फर्कने निर्णयमा पुगेका थिए।

पहलगाम हमलापछि परिवार छुट्टियो

फारुक मीर र अख्तरका अनुसार सन् २०२५ मार्चमा भएको पहलगाम हमलापछि भारत र पाकिस्तानबीच तनाव बढ्यो। त्यसको असर इरफानको परिवारमा पनि परेको थियो।

भारत सरकारले पाकिस्तानसँग सम्बन्ध रहेका व्यक्तिहरूलाई उनीहरूको देश फर्काउने निर्णय गरेपछि इरफानकी पत्नी र छोराहरूलाई पनि पाकिस्तान फिर्ता पठाइएको थियो। तर भारतीय नागरिक भएकाले इरफान भने भारत प्रशासित कश्मीरमै बस्न बाध्य भए।

हाल उनकी पत्नी मुजफ्फराबादमा आफ्ना भाइसँग बस्दै आएकी छन्।

पत्नीका आफन्त मकसुद मुन्तजिरका अनुसार आमाबुबाको मृत्यु र पत्नी तथा छोराछोरीसँगको बिछोडका कारण इरफान आफ्नो पुर्ख्यौली क्षेत्रमा एक्लै परेका थिए। उनी प्रायः आफ्नो एक्लोपनबारे पत्नी र छोराछोरीसँग कुरा गर्ने गर्थे।

फोनमा छोराछोरीसँग कुरा गरेपछि उनी थप दुःखी हुने गरेको मुन्तजिरले बताए। परिवारसँग पुनः भेट्ने उपायबारे उनी निरन्तर सोचिरहन्थे।

मुन्तजिरका अनुसार इरफानले नीलम नदी पार गर्न सके पत्नी र छोराछोरीलाई फेरि भेट्न सकिने ठानेको हुन सक्ने आशंका छ।

परिवारको घरमा शव पुग्दा रुवाबासी

इरफानको शव सुरुमा सीएमएच अस्पताल लगिएको थियो। त्यसपछि मुजफ्फराबादस्थित पत्नी र छोराछोरीको घरमा पुर्‍याइएको थियो। शव घरमा पुगेपछि परिवारका सदस्यहरू भक्कानिएर रोएका थिए। त्यसपछि मुजफ्फराबादको ईदगाहमा उनको अन्तिम नमाज पढेर अन्त्येष्टि गरिएको थियो।

पाकिस्तान प्रशासित कश्मीरका विभिन्न शिविरमा करिब ४८ हजार कश्मीरी शरणार्थी बस्दै आएका छन्। उनीहरूका परिवारका सदस्यहरू नियन्त्रण रेखाको दुवैतर्फ विभाजित छन्।

शरणार्थी नेता हामिद कश्मीरीका अनुसार इरफान उनका साथी थिए। इरफान पाकिस्तान प्रशासित कश्मीरमा रहँदा उनीहरू सँगै व्यवसायसमेत गर्थे।

हामिदका अनुसार पत्नी र छोराछोरीलाई पाकिस्तान फर्काइएपछि इरफान उनीहरूलाई भेट्ने प्रयासमा थिए। तर उनी जीवितै परिवारसम्म पुग्न सकेनन्। अन्ततः उनको शव भने पत्नी र छोराछोरीसम्म पुग्यो।

उनले शरणार्थी शिविरमा रहेका धेरै परिवारले पनि यस्तै अनिश्चिततामा जीवन बिताइरहेको बताए। नियन्त्रण रेखाका कारण छुट्टिएका परिवारका सदस्यहरू फेरि कहिले र कस्तो अवस्थामा भेट्न पाउँछन् भन्ने टुंगो छैन। उनीहरू आफ्ना बिछोडिएका आफन्तसँग पुनर्मिलनको प्रतीक्षामा छन्।

स्थानीय बासिन्दाका अनुसार इरफानको मृत्यु केवल एउटा दुर्घटना मात्र होइन, वर्षौंदेखि विभाजित परिवारको बिछोड, विवशता र अन्तिम पटक भए पनि आफ्ना प्रियजनलाई भेट्ने चाहनाको दर्दनाक कथा हो। बीबीसी