न्युजरुममा प्रहरी पठाउने र पक्राउ पुर्जीविना पत्रकार उठाउने पञ्चायती शैली भोः एमाले

न्युजरुममा प्रहरी पठाउने र पक्राउ पुर्जीविना पत्रकार उठाउने पञ्चायती शैली भोः एमाले


काठमाडौं । नेकपा एमालेले वर्तमान बालेन शाह नेतृत्वको सरकार र गृह प्रशासनद्वारा सञ्चार गृहहरूमाथि भइरहेको प्रत्यक्ष हस्तक्षेप, न्युजरुममा सादा पोशाकका प्रहरी पठाउने रवैया र पत्रकारहरूलाई पक्राउ पुर्जीविना नियन्त्रणमा लिने कदमप्रति तीव्र भर्त्सना गर्दै पीडित पत्रकार तथा सञ्चार जगत्‌प्रति पूर्ण ऐक्यबद्धता जाहेर गरेको छ।

सुशासन र नयाँपनको आवरणमा सरकारले प्रहरी प्रशासन र साइबर ब्युरोलाई आफ्ना आलोचक दबाउने र मिडियाको मुख थुन्ने अस्त्र बनाएको एमालेको आरोप छ।
बिचौलिया काण्ड, कानुनी दोहोरो मापदण्ड र प्रशासनिक नाकामी उजागर गर्ने पत्रकारहरूमाथि राज्यसत्ताको शक्ति प्रयोग गरेर पञ्चायतकालीन निरङ्कुशता लाद्ने प्रयास भइरहेको भन्दै एमालेले प्रेस स्वतन्त्रता र संविधानदत्त अधिकारको रक्षाका लागि सडकदेखि संसद्‌सम्म सशक्त प्रतिवाद गर्ने चेतावनी दिएको छ। स्वतन्त्र पत्रकारितामाथि भइरहेको बर्दीधारी दमनले वर्तमान सरकारको लोकतन्त्रविरोधी र स्वेच्छाचारी अनुहार नाङ्गिएको एमालेको ठहर छ।