भोलिदेखि ३ महिनासम्म सरकारी कार्यालय ४ बजेसम्म मात्रै खुल्ने

भोलिदेखि ३ महिनासम्म सरकारी कार्यालय ४ बजेसम्म मात्रै खुल्ने


काठमाडौं । सरकारले कात्तिक १६ गतेदेखि माघ १५ गतेसम्म सरकारी कार्यालयको समय एक घण्टा घटाउने भएको छ । यस अवधिमा सरकारी कार्यालय बिहान ९ बजेदेखि अपराह्न ४ बजेसम्म मात्रै सञ्चालन हुनेछन् ।

गृह मन्त्रालयले नेपाल राजपत्रमा सूचना प्रकाशित गर्दै सरकारी कार्यालय, सार्वजनिक निकाय तथा शैक्षिक संस्थाको हिउँदे समय निर्धारण गरेको हो ।

सूचनाअनुसार कात्तिक १६ गतेदेखि माघ १५ गतेसम्म सरकारी कार्यालय साताको पाँच दिन बिहान ९ बजेदेखि अपराह्न ४ बजेसम्म सञ्चालन हुनेछन् ।

यसअघि सरकारी कार्यालय बिहान ९ बजेदेखि साँझ ५ बजेसम्म सञ्चालन हुँदै आएका थिए । हिउँदमा साँझ छिट्टै अँध्यारो हुने भएकाले कार्यालय समय एक घण्टा घटाइएको हो ।

सरकारले यसअघि पेट्रोलियम पदार्थको आपूर्तिमा देखिएको असहजतालाई कारण देखाउँदै शनिबार र आइतबार दुई दिन सार्वजनिक बिदा दिने निर्णय गरेको थियो । उक्त निर्णयलाई सरकारले निरन्तरता दिँदै आएको छ ।