कुनै राजनीतिक दलको सदस्य नभएर मैले ठूलो गल्ती गरें : डा . सुरेन्द्र केसी (भिडियो )

कुनै राजनीतिक दलको सदस्य नभएर मैले ठूलो गल्ती गरें : डा . सुरेन्द्र केसी (भिडियो )


काठमाडौ ।
वरिष्ठ राजनीतिक विश्लेषक तथा प्राध्यापक डा. सुरेन्द्र केसीले नेपालमा योग्यता र क्षमताभन्दा दलीय सम्बद्धताका आधारमा मात्र अवसर बाँडिने परिपाटी कायम रहेको भन्दै तीव्र असन्तुष्टि जनाएका छन्। आफू कुनै पनि राजनीतिक दलको सदस्य नभएकै कारण राज्यका विभिन्न अवसरबाट वञ्चित हुनुपरेको अनुभव उनले सुनाएका छन्।
काठमाडौँमा आइतबार आयोजित ‘ग्लोबल अथर अवार्ड २०२६’ नामक अन्तर्राष्ट्रिय साहित्यिक कार्यक्रमलाई सम्बोधन गर्दै डा केसीले आफ्नो पहिचान स्वतन्त्र लेखन र अभिव्यक्तिसँग जोडिएको स्पष्ट पारे।
‘नेपालमा एउटा रेडिमेड परम्परा छ—एउटै व्यक्ति पटक(पटक पद र अवसरमा पुग्ने, अरूले अवसर नै नपाउने,’डा केसीले भने, ‘मैले न्यूनतम २५ देखि २८ वटा पुस्तक लेखेँ, विद्यावारिधि (पीएचडी) गरेँ, चार हजारभन्दा बढी लेखरचना प्रकाशित गरेँ र २० हजारभन्दा बढी अन्तर्वार्ता दिएँ। तर, मेरो सबैभन्दा ठूलो गल्ती भनेको कुनै पनि राजनीतिक दलको सदस्य नहुनु रहेछ।’

‘सीमापार साहित्यको उत्सव’ भन्ने मूल नाराका साथ आयोजित उक्त कार्यक्रममा बोल्दै उनले लेखकहरूले केवल सिर्जनामा मात्र सीमित नरही समाज, राष्ट्र र नागरिकका पीडा तथा समसामयिक अवस्थालाई आफ्नो लेखनमा उतार्नुपर्नेमा जोड दिए। देशमा विद्यमान विकृति, विसङ्गति र नागरिकका निराशालाई उजागर गर्दै सुधारका लागि कलम चलाउनुपर्ने उनको भनाइ थियो।
पुरस्कार, सम्मान तथा अवसर वितरणमा निष्पक्षता र योग्यतालाई नै प्राथमिक आधार बनाउनुपर्ने धारणा राख्दै उनले गौतम बुद्धको शान्ति र सहअस्तित्वको दर्शनलाई वर्तमान समाजले आत्मसात् गर्नुपर्ने बताए।
इन्फिनिटी सर्भिसेज प्रालिकी संस्थापक शीतल खड्काको नेतृत्वमा सम्पन्न सो कार्यक्रममा नेपालसहित भारत, अमेरिका, सिंगापुर, फिजी, क्यानडा, बंगलादेश र युएईका गरी ४५ जना भन्दा बढी प्रतिष्ठित लेखक तथा व्यक्तित्वहरूको सहभागिता रहेको थियो।