नेतन्याहूविरुद्ध इजरायलमा हजारौँको प्रदर्शन, अरब दलसँग मिलेर सरकार बनाउन दबाब

नेतन्याहूविरुद्ध इजरायलमा हजारौँको प्रदर्शन, अरब दलसँग मिलेर सरकार बनाउन दबाब


काठमाडौं । इजरायलको विपक्षी दललाई अरब पार्टीहरूसँग गठबन्धन गरेर प्रधानमन्त्री बेन्जामिन नेतन्याहूलाई सत्ताबाट हटाउन आग्रह गर्दै तेल अभिभमा हजारौँ मानिसले प्रदर्शन गरेका छन् ।

शनिबार भएको प्रदर्शनमा सहभागीहरूले अरब दलहरूसँग मिलेर सरकार गठन गर्न विपक्षीलाई आग्रह गरेका थिए । उनीहरूले यो परिवर्तनका लागि ‘अन्तिम अवसर’ हुन सक्ने बताएका छन् । इजरायलमा सबैभन्दा लामो समय प्रधानमन्त्री बनेका नेतन्याहूलाई प्रदर्शनकारीले ‘ठूलो रणनीतिकार’ भन्दै आलोचना गरेका छन् ।

प्रमुख विपक्षी नेता गादी आइजेनकोटले यसअघि इजरायलका अरब दलहरूसँग गठबन्धन नगर्ने बताउँदै आएका थिए । तर, मंगलबार सम्पन्न निर्वाचनपछि संसद्मा कुनै पनि पक्षले स्पष्ट बहुमत प्राप्त नगरेपछि सरकार गठनका लागि अरब दलहरूको समर्थन निर्णायक बन्न सक्ने अवस्था आएको छ ।

शनिबार रामल्लाहबाट अलजजिरासँग कुरा गर्दै संवाददाता नूर ओदेहले इजरायली नागरिक परिवर्तनका लागि भएको मतदान सफल होस् भन्ने चाहिरहेको बताइन् ।

उनले भनिन्, ‘जनता वास्तवमै यो परिवर्तनको पक्षमा भएको मतदान सफल होस् भन्ने चाहन्छन् । उनीहरू यहुदी–इजरायली दलका नेता गादी आइजेनकोट र अन्य नेताहरूले आफ्नो आवाज सुन्नुपर्ने विश्वास गर्छन् ।’

यसैबीच, प्रदर्शनको विरोधमा नेतन्याहू समर्थकहरू पनि सडकमा उत्रिएका थिए । उनीहरूले ‘तथाकथित आतंकवादीसँग मिलेर इजरायलमा सरकार बनाउन पाइँदैन’ भन्दै नाराबाजी गरेका थिए ।

मंगलबारको निर्वाचनमा नेतन्याहू नेतृत्वको गठबन्धनले ५३ सिट जितेको छ भने आइजेनकोट नेतृत्वको विपक्षी गठबन्धनले ४८ सिट प्राप्त गरेको छ । इजरायलको १२० सदस्यीय संसद्मा सरकार गठन गर्न ६१ सिट आवश्यक पर्छ । त्यसैले दुवै पक्ष एक्लै सरकार बनाउन सक्ने अवस्थामा छैनन् ।

निर्वाचनमा अरब नेतृत्वका तीन दलले भने १९ सिट जितेका छन् । उनीहरूले यसपटकको निर्वाचनमा उल्लेख्य प्रगति गरेका छन् ।

केन्द्रीय निर्वाचन समितिका अनुसार राम र संयुक्त सूची नामक तीन अरब नेतृत्वका दलको गठबन्धनलाई झन्डै आठ लाख ४० हजार मत प्राप्त भएको छ । यो सन् २०२२ को पछिल्लो निर्वाचनको तुलनामा ६४ प्रतिशत बढी हो ।

अरब दलहरूको समर्थन पाएमा आइजेनकोट नेतृत्वको गठबन्धनले ६७ सिटसहित सहज बहुमत प्राप्त गर्न सक्छ । तर, इजरायलको राजनीतिक वृत्तमा अरब दलहरूसँग गठबन्धन गर्ने विषय अझै विवादित छ ।

नेतन्याहूले प्यालेस्टिनी–इजरायली दलहरूमाथि निर्वाचनमा ‘धाँधली गरेर मत चोरेको’ र त्यसका लागि कतारबाट आर्थिक सहयोग लिएको आरोप लगाएका छन् । कतारले भने उक्त आरोप अस्वीकार गर्दै यसलाई भ्रम फैलाउने अभियानको संज्ञा दिएको छ ।

अलजजिराकी संवाददाता ओदेहका अनुसार इजरायलका दक्षिणपन्थी समूहहरूले निर्वाचनमा प्यालेस्टिनी–इजरायली नागरिकको ऐतिहासिक सहभागितालाई ‘निर्वाचन आतंकवाद’ भन्दै व्याख्या गरेका छन् । उनीहरूले यसलाई हमास नेतृत्वमा सन् २०२३ अक्टोबर ७ मा दक्षिणी इजरायलमा भएको आक्रमणसँग समेत तुलना गरेका छन् । उक्त आक्रमणमा १ हजार २०० भन्दा बढी मानिस मारिएका थिए भने सयौँलाई बन्धक बनाइएको थियो ।

ओदेहले प्यालेस्टिनी–इजरायली मतदाता र उनीहरूको आवाज अहिले निशानामा परेको बताइन् । उनका अनुसार आइजेनकोटले सरकार गठन गर्न सक्ने वा नसक्ने भन्ने निर्णयमा उनीहरूको भूमिका महत्त्वपूर्ण भएकाले उनीहरूमाथि राजनीतिक दबाब बढेको हो ।