घाइतेहरूलाई थप उपचारका लागि नेपाल मेडिसिटी अस्पताल ल्याइयो

घाइतेहरूलाई थप उपचारका लागि नेपाल मेडिसिटी अस्पताल ल्याइयो


काठमाडौ । सोलुखुम्बुको फेरिचे हेलिप्याडमा दुईवटा हेलिकप्टर ठोक्किएर भएको दुर्घटनामा घाइते भएका व्यक्तिहरूलाई थप उपचारका लागि ललितपुरस्थित नेपाल मेडिसिटी अस्पताल ल्याइएको छ। सोलुखुम्बु जिल्ला प्रहरी कार्यालयका डीएसपी नवीनराज बुढाथोकीका अनुसार खुम्बु पासाङल्हामु गाउँपालिका-४ फेरिचेस्थित हेलिप्याडमा बिहान अवतरण गर्ने क्रममा दुई हेलिकप्टरका पंखा ठोक्किएर दुर्घटना भएको थियो। उक्त दुर्घटनामा परी भारतीय नागरिक ४७ वर्षीय वसन्तकुमार बलारा माडुको मृत्यु भएको छ।
दुर्घटनामा परी गम्भीर घाइते भएका भारतीय मूलका न्युजिल्यान्डका नागरिक ५३ वर्षीय शैलेश किसन पटेललाई उपचारका लागि नेपाल मेडिसिटी अस्पताल ल्याइएको हो। यसैगरी, दुर्घटनामा परेका फिस्टेल हेलिकप्टरका पाइलटलाई पनि सोही अस्पतालमा ल्याइएको छ। पाइलट सामान्य घाइते रहेको र उनको तत्काल परिचय खुलिसकेको छैन। घाइतेहरूलाई नेपाल मेडिसिटी अस्पतालमा आवश्यक स्वास्थ्य सेवा उपलब्ध गराइने अस्पतालले जनाएको छ।