काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत विराटनगर किंग्सले जनकपुर बोल्ट्सलाई २ रनले पराजित गरेको छ ।
विराटनगरले दिएको १७५ रनको लक्ष्य पछ्याएको जनकपुर २० ओभरमा ७ विकेट गुमाएर १७२ रनमै समेटियो ।
जनकपुरका लागि सैफ हसनले सर्वाधिक ७१ रन बनाए । उनले ४८ बलमा २ चौका र ५ छक्का प्रहार गरे । बिशाल सुशलिङले ३० बलमा ४३ रन जोडे । उनले २ चौका र ३ छक्का प्रहार गरे ।
जेम्स निशमले १५ बलमा २७ रन बनाए । मोइन अलीले १० र ट्रिट राज दासले ६ रन जोडे । अनिल साह खाता नखोली आउट भए ।
विराटनगरका आन्द्रे रसेलले ४ तथा एन्जेलो म्याथ्युजले २ विकेट लिए ।
यसअघि कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा टस हारेर पहिले ब्याटिङ गरेको विराटनगरले २० ओभरमा ३ विकेट गुमाएर १७४ रन बनाएको थियो ।
विराटनगरका लागि इमरान शेखले ५६ रनको अर्धशतकीय पारी खेले । उनले ४५ बलमा ५ चौका र २ छक्का प्रहार गरे ।
लोकेश बम ४० बलमा ५० रन बनाएर आउट भए । उनले ३ चौका र ३ छक्का प्रहार गरे । आन्द्रे रसेलले २९ बलमा अविजित ५२ रन जोडे । उनले २ चौका र ५ छक्का हिर्काए ।
शेहान जयसूर्या १ रनमा आउट भए । उनलाई मोइन अलीले आउट गरेका थिए । इमरानलाई अभिषेक तिवारीले पवेलियन पठाए ।
जनकपुरका राहुल यादव, मोइन अली र अभिषेक तिवारीले समान १-१ विकेट लिए ।
यससँगै जारी लिगमा जनकपुरले चार खेलमा दुई जित र २ हार व्यहोरेको छ भने विराटनगरले चार खेलमै २ जित निकालेको छ ।

प्रतिक्रिया