काठमाडौं। बिचौलिया भनिएका इनम सापकोटा प्रकरणसँग जोडिएका अडियो, ह्वाट्सएप सन्देश तथा प्रहरी बयान बाहिरिएपछि त्यसको सत्यतथ्य पत्ता लगाउन जेनजी युवा अगुवाहरूले उच्च पदस्थ सबै व्यक्तिमाथि निष्पक्ष अनुसन्धानको माग गरेका छन्। प्रधानमन्त्री बालेन्द्र शाह, प्रमुख प्रतिपक्षी दलका नेता एवं नेपाली कांग्रेसका सभापति गगनकुमार थापा, प्रधानन्यायाधीश, पूर्वप्रधानमन्त्री, पूर्वमन्त्री तथा प्रहरी महानिरीक्षक ९क्ष्न्ए० लगायत कसैलाई पनि अनुसन्धानको दायराभन्दा बाहिर राख्न नहुने उनीहरूको अडान छ।
जेनजी अगुवा रवि किरण हमालले विद्यमान राज्य संयन्त्रबाट मात्र निष्पक्ष अनुसन्धान सम्भव नहुने आशङ्का व्यक्त गर्दै प्रतिनिधिसभाप्रति उत्तरदायी रहने गरी प्रमाण संकलन, कागजात झिकाउने र दोषीमाथि कारबाही सिफारिस गर्ने अधिकारसहितको शक्तिशाली ‘स्वतन्त्र लोकपाल’ गठन गर्नुपर्ने माग दोहोर्याएका छन्। साथै, हिरासतमा रहेका व्यक्तिको बयान र निजी सन्देशहरू नियोजित रूपमा छानीछानी चुहावट ९लिक० भएको भन्दै सूचना चुहावटको स्रोत र उद्देश्यबारे समेत छानबिन हुनुपर्ने उनले बताएका छन्।
अर्का अगुवा मिराज ढुङ्गानाले राज्य दोहनमा संलग्न जोकोहीलाई उन्मुक्ति दिन नहुने बताएका छन्। सापकोटाको बयानका आधारमा कांग्रेसको आधिकारिकतासम्बन्धी विवादमा १८ करोड रुपैयाँको आर्थिक लेनदेण ९डिल० भएको र न्यायिक फैसला प्रभावित पार्न प्रधानमन्त्री तहबाटै निर्देशन आएको भन्ने आरोपको सत्यतथ्य छानबिन गर्न निष्पक्ष संसदीय समिति गठनको माग उनले गरेका छन्।
त्यस्तै, जेनजी अगुवा रक्षा बमले देशमा विधिको शासन कायम राख्न राजनीतिक र प्रशासनिक पहुँचका आधारमा कसैलाई पनि छूट दिन नहुने बताएकी छन्। ‘यदि यो देशमा विधिको शासन साँच्चिकै छ भने जनतालाई सबै नालीबेली थाहा देऊ,’ बमले भनेकी छन्। तीनै जना जेनजी अगुवाहरूले राजनीतिक प्रभावभन्दा माथि उठेर प्रमाणका आधारमा घटनाको निष्पक्ष छानबिन गर्न, दोषी देखिएकालाई कानुनअनुसार कारबाही गर्न र सम्पूर्ण सत्यतथ्य सर्वसाधारणसामु सार्वजनिक गर्न जोडदार माग गरेका छन्।

प्रतिक्रिया