रुकुम पश्चिममा जिप दुर्घटना : दुई जनाको मृत्यु, १३ घाइते

रुकुम पश्चिममा जिप दुर्घटना : दुई जनाको मृत्यु, १३ घाइते


सुर्खेत । रुकुम पश्चिमको आठबिसकोट नगरपालिका–५ नयाँडाँडामा जिप दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ भने १३ जना घाइते भएका छन् । घाइतेमध्ये ६ जनाको अवस्था गम्भिर रहेको छ ।

कात्तिक २३ गते दिउँसो १२ बजे थापागाउँबाट नयाँडाँडातर्फ आउँदै गरेको भे.१ च ३११२ नम्बरको डबल क्याप जिप ब्याक गर्ने क्रममा अनियन्त्रित भई सडकबाट करिब १५० मिटर तल खसेको थियो ।

दुर्घटनामा आठबिसकोट नगरपालिका–५ का १० वर्षीय हरिबहादुर थापा र २९ वर्षीय लक्ष्मीराम थापाको घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ । जिप आठबिसकोट नगरपालिका–४ का २५ वर्षीय प्रदीप विकले चलाएका थिए ।

दुर्घटनामा १९ वर्षीया जुना कुमारी थापा, ३५ वर्षीय वीरबहादुर थापा, २३ वर्षीया सीता थापा, २३ वर्षीया जुनि थापा, आठ वर्षीय युवराज थापा र चार वर्षीया विरता थापा गम्भिर घाइते भएका छन् । वीरबहादुर जिपका साहु हुन् ।

त्यस्तै, २५ वर्षीया हिरा थापा र दुई वर्षीय गौरव थापा मध्यम घाइते भएका छन् । २३ वर्षीया सुशिला थापा ऐरी, २८ वर्षीया भावना थापा ऐरी, २७ वर्षीया खिममाया थापा, २० वर्षीया रमिता ऐरी र १९ वर्षीया निर्मला ऐरी सामान्य घाइते भएका छन् ।

घाइतेमध्ये सामान्य र मध्यम अवस्थाका ६ जनालाई दिउँसो उपचारका लागि नगर अस्पताल राडी पठाइएको छ । अन्य घाइतेलाई पनि उपचारका लागि पठाउने पहल भइरहेको प्रहरीले जनाएको छ ।

दुर्घटनापछि चालक प्रदीप विक फरार रहेका छन् । उनको खोजी भइरहेको र दुर्घटनामा परेको जिप घटनास्थलमै रहेको प्रहरीले जनाएको छ ।

घटनास्थलमा प्रहरी चौकी गोतामकोटबाट प्रहरी सहायक निरीक्षक बुद्धिराम वलीको कमाण्डमा चार जना र इलाका प्रहरी कार्यालय आठबिसकोटबाट प्रहरी निरीक्षक विजय चपागाईँको कमाण्डमा सात जनाको प्रहरी टोली खटिएको छ ।