काठमाडौं । सुदूरपश्चिम रोयल्सले नेपाल प्रिमियर लिग (NPL) को प्लेअफमा स्थान लगभग पक्का गरेको छ ।
मंगलबार भएको खेलमा जनकपुर बोल्ट्सलाई २७ रनले पराजित गर्दै सुदूरपश्चिमले प्लेअफमा स्थान बलियो बनाएको हो । यता जनकपुर भने प्लेअफको दौडबाट बाहिरिएको छ ।
६ खेल खेलेको सुदूरपश्चिमले ४ जित र दुई हारसहित ८ अंक जोडेको छ । जनकपुर चार अंकसहित पाँचौँ स्थानमा छ ।
सुदूरपश्चिमले दिएको १२१ रनको लक्ष्य पछ्याएको जनकपुरले १९.५ ओभरमा अलआउट भएर ९३ रन मात्र बनाउन सक्यो ।
जनकपुरका त्रितराज दासले सर्वाधिक २१ रन बनाए । जेम्स निसम १३ रन बनाए । आदित्य महताले १०, रायन बर्लले ८, ललित राजवंशीले ५ तथा हरमित सिंहले ४ रन बनाए । अन्य ब्याटरले दोहोरो अंकमा रन बनाउन सकेनन् ।
सुदूरपश्चिमका स्कट कुग्लेनले ३ तथा हेमन्त धामी, थारिन्दु रत्नायके, दीपेन्द्रसिंह ऐरी र ईशान पाण्डेले एक–एक विकेट लिए ।
त्यसअघि टस जितेर पहिले ब्याटिङ गरेको सुदूरपश्चिमले निर्धारित २० ओभरमा ९ विकेट गुमाएर १२० रन बनाएको थियो ।
सुदूरपश्चिमका ब्रान्डन म्याकमुलनले सर्वाधिक ३३ रन बनाए । थारिन्दु रत्नायकेले अविजित २७, आरिफ शेखले ११ तथा सैफ जैब र बिनोद भण्डारीले समान १० रन जोडे ।
जनकपुरका हरमित सिंहले चार विकेट लिए ।

प्रतिक्रिया