विराटनगरको प्लेअफ सम्भावना कायमै

विराटनगरको प्लेअफ सम्भावना कायमै


काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल) मा विराटनगर किंग्सले पोखरा एभेन्जर्सलाई ४ विकेटले पराजित गर्दै प्लेअफ सम्भावना कायमै राखेको छ ।

पोखराले दिएको १३३ रनको लक्ष्य विराटनगरले १९.२ ओभरमा ६ विकेटको क्षतिमा पूरा गर्दै जित निकालेको हो । यससँगै विराटनगरले ६ खेलमा ६ अंक बनाएर प्लेअफ सम्भावना कायमै राखेको हो ।

विराटनगरका बसिर अहमदले ३७ रन बनाए । उनले ३९ बलमा २ चौका र २ छक्का प्रहार गरेका छन् । लोकेश बमले ३३ रन बनाए ।

पोखराका कुशल भुर्तेल र रमेश मेन्डिसले २-२ तथा विपिन खत्री र धनञ्जय लक्षणले समान १-१ विकेट लिए ।

प्रतियोगिताबाट बाहिरिइसकेको पोखराको भने लगातार दोस्रो जित निकाल्ने लक्ष्य पूरा हुन सकेन ।

यसअघि विराटनगर किंग्सका कप्तान सन्दीप लामिछानेले NPL मा पहिलो ह्याट्रिकसहित ६ विकेट लिएका थिए । उनको उत्कृष्ट बलिङमा पोखरा एभेन्जर्स १७.५ ओभरमा १३२ रनमै अलआउट भएको थियो ।

कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा टस जितेर पहिले ब्याटिङ गरेको पोखराले सुरुवातदेखि नै विकेट गुमाएको थियो । एक समय ७६ रनमा ५ विकेट गुमाएको पोखराका लागि युवराज सामराले ८४ रनको उत्कृष्ट इनिङ्स खेले । उनले ४७ बलमा ७ चौका र ५ छक्का प्रहार गरे ।

तर, सन्दीपले १५औँ ओभरमा लगातार तीन बलमा तीन विकेट लिएपछि पोखराको इनिङ्स धराशायी बन्यो । उनले ओभरको तेस्रो बलमा सामरालाई आउट गरे । चौथो बलमा चमिका करुणारत्ने र पाँचौँ बलमा किरण ठगुन्नालाई पेभेलियन पठाउँदै ह्याट्रिक पूरा गरे ।

सन्दीपले यसअघि सातौँ ओभरको दोस्रो बलमा अर्जुन घर्ती र एघारौँ ओभरको दोस्रो बलमा सन्नी बीकेलाई आउट गरेका थिए । उनले चार ओभरमा २७ रन खर्चेर ६ विकेट लिए ।

एनपीएलमा सन्दीपको यो पहिलो ह्याट्रिक हो । यसअघि साहब आलम, रोहित पौडेल र प्रतिश जिसीले ह्याट्रिक गरेका थिए । सन्दीप टी२० करियरमै पहिलोपटक एकै इनिङ्समा ६ विकेट लिन सफल भएका हुन् ।

पोखराका लागि सामराबाहेक सन्नी बीकेले १२ र रुमेश मेन्डिसले २२ रन बनाए । विराटनगरका रुपेश सिंहले एक विकेट लिए ।