बन्दीपुरमा ६७ फिट अग्लो राष्ट्रिय झण्डासहितको पार्क निर्माण हुँदै

बन्दीपुरमा ६७ फिट अग्लो राष्ट्रिय झण्डासहितको पार्क निर्माण हुँदै


दमौली। तनहुँको बन्दीपुर गाउँपालिका–१ तल्लोटारमा ६७ फिट अग्लो राष्ट्रिय झण्डासहितको पर्यटकीय पार्क निर्माण गरिने भएको छ । पृथ्वीराजमार्ग नजिकै निर्माण गर्न लागिएको पार्कमा राखिने विशाल राष्ट्रिय झण्डा बिहीबार पहिलोपटक बन्दीपुर बजारमा प्रदर्शन गरिएको छ ।

पार्क निर्माण सम्पन्न भएपछि बन्दीपुरको पर्यटन प्रवर्द्धनसँगै पृथ्वीराजमार्ग भएर यात्रा गर्ने आन्तरिक तथा बाह्य पर्यटकलाई आकर्षित गर्ने लक्ष्य राखिएको निर्माण समितिले जनाएको छ । पोखरा र काठमाडौँबीच आवतजावत गर्ने यात्रुलाई लक्षित गरी राजमार्ग नजिकै नयाँ पर्यटकीय गन्तव्य विकास गर्न लागिएको हो ।

पार्कमा राखिने राष्ट्रिय झण्डाको उचाइ ६७ फिट, लम्बाइ ४५ फिट र चौडाइ ३० फिट हुनेछ । विशाल झण्डासहितको पार्क निर्माण गर्ने योजनालाई स्थानीयस्तरमा पर्यटन प्रवर्द्धनसँग जोडेर अघि बढाइएको छ ।

झण्डा पार्क निर्माण समितिका संयोजक शेरबहादुर रानाका अनुसार पार्क निर्माणको काम श्रमदानबाट अघि बढाइएको छ । हालसम्म रु १५ लाखभन्दा बढी बराबरको निर्माण कार्य सम्पन्न भइसकेको उहाँले जानकारी दिनुभयो ।

पार्क निर्माणको योजना र विशाल झण्डाबारे सर्वसाधारणलाई जानकारी गराउँदै प्रचारप्रसार गर्ने उद्देश्यले झण्डा प्रदर्शन गरिएको हो । झण्डा सार्वजनिक भएपछि निर्माणाधीन पार्कबारे स्थानीयवासी तथा बन्दीपुर भ्रमणमा आउने पर्यटकलाई जानकारी पुग्ने अपेक्षा गरिएको छ ।

पार्क निर्माणका लागि स्थानीयवासीले श्रमदानसँगै आर्थिक सहयोग जुटाउने अभियानसमेत सञ्चालन गरेका छन् । यसैक्रममा निर्माणका लागि आर्थिक स्रोत जुटाउने उद्देश्यले बन्दीपुर बजारमा देउसीभैलो कार्यक्रम आयोजना गरिएको छ ।

तिहारको सांस्कृतिक परम्परालाई निर्माण अभियानसँग जोड्दै देउसीभैलोबाट सङ्कलित रकम पार्क निर्माणमा खर्च गर्ने योजना रहेको स्थानीय अगुवा बासु पन्तले बताउनुभयो ।

उहाँका अनुसार स्थानीयवासीको सक्रिय सहभागितामा निर्माण कार्य भइरहेको छ । श्रमदान र आर्थिक सहयोग जुटाएर पार्कलाई पूर्णता दिने लक्ष्य राखिएको छ । सामूहिक प्रयासबाट बन्दीपुरमा नयाँ पर्यटकीय आकर्षण थपिने विश्वास गरिएको उहाँले बताउनुभयो ।

प्राकृतिक सुन्दरता, मौलिक संस्कृति र पुराना बस्तीका कारण बन्दीपुर पर्यटकीय गन्तव्यका रूपमा परिचित छ । यहाँ आउने पर्यटकलाई लक्षित गरी थप पूर्वाधार निर्माण गर्ने क्रममा पृथ्वीराजमार्ग नजिकै विशाल राष्ट्रिय झण्डासहितको पार्क बनाउन लागिएको हो ।

पृथ्वीराजमार्ग भएर दैनिक ठूलो सङ्ख्यामा यात्रु तथा पर्यटक पोखरा र काठमाडौँ आवतजावत गर्छन् । राजमार्ग नजिकै आकर्षक संरचना निर्माण भएमा यात्रुलाई केही समय रोकिएर अवलोकन गर्न र तस्बिर खिच्न आकर्षित गर्न सकिने स्थानीयको अपेक्षा छ । पार्कले बन्दीपुरको पर्यटकीय पहिचानलाई थप विस्तार गर्ने विश्वास पन्तले व्यक्त गर्नुभयो ।