दीपेन्द्रले उकासे सुदूरपश्चिमको इनिङ्स, काठमाण्डुलाई १२६ रनको लक्ष्य

दीपेन्द्रले उकासे सुदूरपश्चिमको इनिङ्स, काठमाण्डुलाई १२६ रनको लक्ष्य


काठमाडौं । नेपाल प्रिमियर लिग (NPL) मा कप्तान दीपेन्द्रसिंह ऐरीले अर्धशतक बनाएपछि सुदूरपश्चिम रोयल्सले काठमाण्डु गोर्खाजलाई १२६ रनको लक्ष्य दिएको छ ।

कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा टस हारेर पहिले ब्याटिङ गरेको सुदूरपश्चिमले निर्धारित २० ओभरमा ६ विकेट गुमाएर १२५ रन बनाएको हो ।

सुदूरपश्चिमको सुरुवात निकै खराब रह्यो । टोलीले २.३ ओभरमै ८ रन जोड्दा चार विकेट गुमाएको थियो । स्कट कुगेलेइन ६, विनोद भण्डारी १, ब्रान्डन म्याकमुलेन र ईशान पाण्डे शून्यमा आउट भए ।

त्यसपछि कप्तान दीपेन्द्रले आरिफ शेखसँग पाँचौँ विकेटका लागि ५४ रनको साझेदारी गर्दै टोलीलाई सम्हाले । आरिफ १६ रन बनाएर रनआउट भए ।

दीपेन्द्रले ६० रन बनाए । उनले ५५ बलमा ५ चौका र २ छक्का प्रहार गरे । थारिन्दु रत्नायके २६ रनमा अविजित रहे ।

काठमाण्डुका जहान्दाद खानले ३ तथा सन्तोष यादवले दुई विकेट लिए ।