दक्षिणकाली–हेटौँडा सडकमा राति सवारी सञ्चालनमा रोक

दक्षिणकाली–हेटौँडा सडकमा राति सवारी सञ्चालनमा रोक


काठमाडौं । बल्खु–दक्षिणकाली हुँदै हेटौँडा जाने सडकखण्डमा रातिको समयमा यात्रुवाहक सार्वजनिक सवारीसाधन सञ्चालनमा रोक लगाइएको छ । उक्त सडकखण्डमा दुर्घटनाको जोखिम बढ्दै गएपछि जिल्ला प्रशासन कार्यालय काठमाडौंले सवारी सञ्चालनका लागि नयाँ समयसीमा निर्धारण गरेको हो ।

प्रशासनले जारी गरेको सूचनाअनुसार काठमाडौंबाट बल्खु–दक्षिणकाली हुँदै हेटौँडा जाने यात्रुवाहक सार्वजनिक सवारीसाधन बेलुका ८ बजेसम्म फर्पिङ प्रहरी चेकपोस्ट पुगिसक्नुपर्नेछ ।त्यस्तै, बिहान ५ बजेपछि मात्रै बल्खुबाट उक्त रुटमा यात्रुवाहक तथा भाडाका सार्वजनिक सवारीसाधन सञ्चालन गर्न पाइनेछ । सवारीसाधनको अवस्था पूर्ण रूपमा जाँच गरेर मात्रै सञ्चालन गर्न प्रशासनले निर्देशन दिएको छ ।काठमाडौं जिल्लाभित्र उक्त सडकखण्डमा पर्ने प्रहरी युनिट तथा ट्राफिक प्रहरीले यात्रुवाहक सार्वजनिक सवारीसाधनको अनिवार्य र कडाइका साथ जाँच गर्ने व्यवस्था मिलाउनुपर्ने सूचनामा उल्लेख छ ।

शासनका अनुसार साँघुरो सडक, सवारीसाधनको कमजोर यान्त्रिक अवस्था, चालकको लापरवाही, तीव्र गति तथा भिरालो र घुम्ती सडकका कारण उक्त रुटमा दुर्घटनाको जोखिम उच्च छ । विशेषगरी रातिको समयमा अँध्यारो सडकमा यात्रा गर्दा यात्रु, चालक तथा सवारीसाधनको सुरक्षामा गम्भीर जोखिम देखिएको प्रशासनले जनाएको छ । त्यसैगरी, एकै दिनमा धेरै पटक ओहोरदोहोर गर्नुपर्ने दबाबका कारण चालकमा अत्यधिक तनाव, थकान र अनिद्राको समस्या देखिने गरेको प्रशासनको भनाइ छ । यिनै कारणले उक्त सडकखण्डमा पटक–पटक गम्भीर प्रकृतिका दुर्घटना दोहोरिएकाले सवारी सञ्चालनमा समयसीमा तोकिएको हो ।

दुर्घटना न्यूनीकरण तथा यात्रु र चालकको सुरक्षालाई ध्यानमा राख्दै प्रशासनले तोकिएको समय र सुरक्षा मापदण्ड अनिवार्य पालना गर्न सम्बन्धित सबैलाई आग्रह गरेको छ ।