प्रधानमन्त्रीको कार्यशैली अलोकतान्त्रिक र स्वेच्छाचारी छ – शंकर पोखरेल

प्रधानमन्त्रीको कार्यशैली अलोकतान्त्रिक र स्वेच्छाचारी छ – शंकर पोखरेल


काठमाडौं । नेकपा एमालेका महासचिव शंकर पोखरेलले वर्तमान सरकार प्रतिशोधात्मक, स्वेच्छाचारी र अधिनायकवादी शैलीमा अघि बढेको आरोप लगाएका छन् ।

सोमबार राष्ट्रिय कार्यकर्ता भेलाको तयारीबारे जानकारी दिन आयोजित पत्रकार सम्मेलनमा बोल्दै पोखरेलले सरकार गठनपछि लोकतान्त्रिक मूल्य, मान्यता, संवैधानिक व्यवस्था र कानुनी प्रबन्धअनुसार काम गर्ने विषयमा गम्भीर समस्या देखिएको बताए ।

उनले फागुन २१ गतेको निर्वाचन असामान्य परिस्थितिमा सम्पन्न भए पनि जनताले दिएको जनादेशलाई एमालेले सम्मान गरेको बताए । तर, सरकार गठनपछि राजनीतिक प्रतिशोधका आधारमा एमाले अध्यक्ष र निवर्तमान गृहमन्त्रीलाई पक्राउ गरिएको उनको आरोप छ ।

’विना तथ्य र प्रमाण आग्रहका आधारमा पार्टी अध्यक्षलाई गिरफ्तार गर्ने, निवर्तमान गृहमन्त्रीलाई गिरफ्तार गर्ने तर १३–१३ दिन राखेर पनि अभियोजन गर्न नसक्ने अवस्था छ,’ उनले भने, ’यदि त्यही प्रकृतिका घटनामा गोली चल्दा मान्छे मरेको जिम्मेवारी प्रधानमन्त्री र गृहमन्त्रीले लिनुपर्ने हो भने अहिलेका प्रधानमन्त्री र गृहमन्त्री पनि त्यही ठाउँमा रहन मिल्दैन ।’

पोखरेलले सरकारका गतिविधिले विद्यार्थी आन्दोलन, ट्रेड युनियन र सञ्चार क्षेत्रको स्वतन्त्रतामाथि समेत अंकुश लगाउन खोजिएको बताए । विद्यार्थीलाई कलेजमा गतिविधि गर्न रोक लगाउने, ट्रेड युनियनमाथि प्रतिबन्ध लगाउने र निजी सञ्चारमाध्यमलाई सरकारी विज्ञापन नदिने निर्णय लोकतान्त्रिक मान्यताविपरीत भएको उनको भनाइ थियो ।

उनले राज्यका विभिन्न निकायलाई कार्यकारीको मातहतमा ल्याएर आतंकित पार्ने प्रयास भइरहेको आरोप पनि लगाए । इनम सापकोटा प्रकरणलाई त्यसको उदाहरणका रूपमा प्रस्तुत गर्दै उनले घटनाको अनुसन्धान प्रक्रिया पारदर्शी नभएको टिप्पणी गरे ।

प्रधानमन्त्रीका सल्लाहकारले प्रहरी नियन्त्रणमा रहेको मोबाइल दुई–तीन दिनसम्म राखेको विषयसमेत बाहिर आएको उल्लेख गर्दै पोखरेलले सरकार कुन प्रकारको शासन व्यवस्थातर्फ अघि बढिरहेको छ भन्ने प्रश्न उठाए ।

प्रधानमन्त्री संसद्प्रति उत्तरदायी नभएको आरोप लगाउँदै उनले संसद्, संसदीय दल र आफ्नै पार्टीका बैठकमा समेत प्रधानमन्त्रीको उपस्थिति र सक्रियता नदेखिएको बताए ।

उनले भने,’प्रधानमन्त्री संसद्मा जानुहुन्न । संसदीय नियमावलीका प्रबन्धलाई अवहेलना गरिराख्नुभएको छ । दलको नेता हुनुहुन्छ, दलको बैठकको अध्यक्षता गर्नुहुन्न । राजनीतिक दलहरूसँग संवाद गर्नुहुन्न ।’

एमालेले निर्वाचनमा व्यहोरेको परिणामको समीक्षा गर्न सचिवालय बैठकबाट कार्यदल गठन गरी कार्यकर्ताका सुझाव संकलन गरेको पनि उनले जानकारी दिए । उनका अनुसार कार्यदलले ४० वटा सुझावसहित सर्वसम्मत प्रतिवेदन तयार गरेको छ ।

राष्ट्रिय कार्यकर्ता भेलाको मुख्य उद्देश्य पार्टीलाई पुनः जनतामाझ स्थापित गर्नुका साथै वैचारिक, राजनीतिक र संगठनात्मक रूपमा एकताबद्ध बनाउनु रहेको पोखरेलले बताए ।

स्थानीय तह निर्वाचनको तयारीबारे बोल्दै उनले एमालेले स्थानीय सरकारलाई बलियो बनाउन सुरुदेखि नै नेतृत्वदायी भूमिका निर्वाह गर्दै आएको दाबी गरे । नयाँ राजनीतिक दलहरू पनि प्रदेश र स्थानीय तहको निर्वाचनमा सहभागी हुन तयार हुनु सकारात्मक भएको उनको भनाइ थियो ।

’नेपालमा स्थानीय तह बलियो बनाउने कुराको फाउन्डर नै नेकपा एमाले हो,’ उनले भने, ’स्थानीय चुनावको तयारी पनि राष्ट्रिय कार्यकर्ता भेलाको एउटा महत्त्वपूर्ण उद्देश्य हो ।’

प्रधानमन्त्रीको कार्यशैली लोकतान्त्रिक नभएको टिप्पणी गर्दै पोखरेलले विपक्षी दलसँग संवादको अपेक्षा नरहेको बताए ।

’उहाँको कार्यशैली नै अलोकतान्त्रिक छ, स्वेच्छाचारी छ, अधिनायकवादी छ,’ उनले भने ।