राजनीति बुझ्न हाम्रो सरकार विस्थापन गर्न बनाइएको वातावरण बुझ्नुपर्छ : अध्यक्ष ओली

राजनीति बुझ्न हाम्रो सरकार विस्थापन गर्न बनाइएको वातावरण बुझ्नुपर्छ : अध्यक्ष ओली


काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले पार्टीले बेहोरेको धक्का फागुन २१ को निर्वाचन परिणामले मात्र नभई निर्वाचनपूर्व सरकारबाट अपदस्थ गरिएसँगै सुरु भएको बताएका छन् ।

पार्टीको राष्ट्रिय भेलाको दोस्रो दिनको कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष ओलीले निर्वाचनपूर्व भएका ध्वंस र आक्रमणका कारण एमालेलाई प्रतिरक्षात्मक बनाएको उल्लेख गरे ।

‘हामी सरकारबाट अपदस्थ हुँदाको अवस्थाको विश्लेषण नगरी राजनीति हुँदैन,’ अध्यक्ष ओलीले भने, ‘राजनीति बुझ्नका लागि हाम्रो सरकार विस्थापन गर्न बनाइएको वातावरण बुझ्नुपर्दछ । त्यति नबुझी राजनीति बुझिँदैन ।’

अध्यक्ष ओलीले प्राविधिक कुरालाई मात्र देखाएर आन्तरिक कमजोरीकै कारण एमालेको सरकार विस्थापित भएको भनेर बुझ्न नहुने बताए ।

‘अल्गोरिदम प्रयोग गरेर र सामाजिक सञ्जालका माध्यमबाट हामीलाई जनताबाट टाढा पुर्‍याइयो,’ उनले भने, ‘हामीप्रति घृणा फैलाएर तथा अनावश्यक ढंगले सुरक्षा निकायको संलग्नता गराएर निर्वाचनमा एमालेलाई पराजित गराइयो ।’

मौसमी छिचिमिरासँग कोही पनि डराउनु नहुने अध्यक्ष ओलीको भनाइ थियो ।

‘बर्खायाममा निस्कने छिचिमिराको आयु लामो हुँदैन । यस्ता छिचिमिरा घरको छानामा नपुग्दै कतिपयलाई चराले खाइदिन्छ भने कतिपय आफैं भुइँमा झर्छन्,’ अध्यक्ष ओलीले भने, ‘यस्ता प्रवृत्तिविरुद्ध लड्ने र विजय हासिल गर्ने कामको नेतृत्व एमालेले गर्छ ।’

अध्यक्ष ओलीले समाजलाई सबै भ्रमहरूबाट मुक्त गर्ने कामको अगुवाइ एमालेले गर्ने बताए । समाजलाई निराशाको अवस्थाबाट बाहिर निकालेर पुनर्जागरण गराउने कामको नेतृत्व पनि आफूहरूले गर्ने उनको भनाइ छ ।