सर्लाहीमा हिन्दु र मुस्लिम समुदायबीच फेरि झडप, अनिश्चितकालीन कर्फ्यु जारी

सर्लाहीमा हिन्दु र मुस्लिम समुदायबीच फेरि झडप, अनिश्चितकालीन कर्फ्यु जारी


जनकपुरधाम ।

सर्लाही सदरमुकाम मलंगवामा २ समुदायबीच झडप भएपछि स्थानीय प्रशासनले फेरि कर्फ्यु लगाएको छ ।

बिहीबार साँझ गणेशको मूर्ति सेलाउन जाने क्रममा हिन्दु र मुस्लिम समुदायबीच झडप भएपछि स्थानीय प्रशासनले बिहीबार राति १० बजेदेखि अनिश्चितकालीन कर्फ्यु आदेश जारी गरेको हो ।

सर्लाहीका डिएसपी दिपेन्द्र पन्जियार थारुका अनुसार मूर्ति सेलाउन जाने क्रममा साँझ साढे ७ बजे मुस्लिम बस्ती पुगेपछि बिजुलीको लाइन कट्यो । त्यहीबेला अज्ञात समूहबाट ढुंगामुढा प्रहार भएपछि झडप भएको थियो ।

त्यसैक्रममा एक युवकमाथि छुरा प्रहार भयो । छुरा प्रहार भएका ती युवकको अवस्था गम्भीर रहेको प्रहरीले जनाएको छ ।

यसअघि कृष्णाष्टमीको मूर्ति सेलाउने क्रममा पनि सोही बस्तीमा दुवै समुदायबीच झडप भएको थियो । त्यसपछि स्थानीय प्रशासनले कर्फ्यु र निषेधाज्ञा जारी गरेको थियो ।