काठमाडौं । पोखरा अन्तर्राष्ट्रिय विमानस्थलबाट फ्लाई दुबईले नियमित उडान सुरु गरेसँगै पोखराको अन्तर्राष्ट्रिय हवाई सम्पर्क विस्तार भए पनि जहाज नियमित रूपमा भरिएर उड्ने गरी यात्रु जुटाउने चुनौती कायमै देखिएको छ।
गत सेप्टेम्बर २३ देखि नोभेम्बर १५ सम्म ५३ दिनको अवधिमा दुबईबाट ८ हजार ७५६ यात्रु पोखरा आएका छन् भने ५ हजार ५१३ यात्रु बाहिरिएका छन्।
विमानस्थलका अनुसार दुवैतर्फ गरी १४ हजार २६९ जनाले यात्रा गर्दा चाडपर्वका कारण स्वदेश फर्किने नेपाली यात्रुको चाप बढी देखिएको हो। व्यवसायीको पहलमा सुरु भएको यो उडानलाई दिगो राख्न १६५ सिट क्षमताको विमानमा कम्तीमा ७० देखि ८० प्रतिशत सिट भरिने निरन्तर माग आवश्यक रहेको बताइएको छ।
खाडी, अस्ट्रेलिया, अमेरिका र बेलायत जाने–आउने नेपालीसँगै विदेशी पर्यटकलाई समेत पोखरातर्फ आकर्षित गर्न सके मात्र स्थानीय पर्यटन क्षेत्रले दीर्घकालीन लाभ लिन सक्ने सरोकारवालाहरूको भनाइ छ।

प्रतिक्रिया