भैरहवा । रुपन्देहीको सिद्धार्थनगर नगरपालिका–३ (भैरहवा) स्थित सिद्धार्थ बसपार्क परिसरमा आदिकवि भानुभक्त आचार्यको पूर्णकदको शालिक निर्माण सुरु भएको छ । उक्त शालिकको बिहीबार सिद्धार्थनगर नगरपालिकाका प्रमुख इश्तियाक अहमद खाँले शिलान्यास गरेका हुन् । सामूहिक विद्यालय परिवार, रुपन्देहीले निर्माण गर्न लागेको शालिक ६ फिट अग्लो रहने संस्थाका सचिव कमल कोइरालाले जानकारी दिए ।
सामूहिक विद्यालय परिवारका अध्यक्ष विष्णु प्रसाद पन्थीले अध्ययन अवलोकन भ्रमणका क्रममा भारतको दार्जिलिङ र सिक्किम पुग्दा भानुभक्त आचार्यप्रति प्रवासी नेपालीहरूले देखाएको सम्मान र सद्भावबाट प्रभावित भएर शालिक निर्माणको अवधारणा अघि बढाइएको बताए ।
भानुजयन्तीकै दिन दार्जिलिङ र सिक्किम पुगेको स्मरण गर्दै उनले नेपाली भाषा र साहित्यको पहिचान स्थापित गर्न भानुभक्तले पुर्याएका योगदानको प्रवासमा उच्च सम्मान देखिएको बताए । तर, नेपालमै उनको जन्मस्थलमा राज्यस्तरबाट अपेक्षित सम्मान हुन नसकेको अनुभूति भएको बताए ।
भानुभक्तको जन्मस्थल तनहुँको रम्घा र उनको मूल घरसमेत अवलोकन गर्दा उचित संरक्षण तथा सम्मानको अभाव देखिएको अध्यक्ष पन्थीको भनाइ थियो । त्यसपछि भैरहवामा पूर्णकदको शालिक निर्माण गर्ने पहल अघि बढाइएको उनले बताए । शालिक राख्न स्थान उपलब्ध गराएकोमा अध्यक्ष पन्थीले सिद्धार्थनगर नगरपालिकाप्रति आभार व्यक्त गरे । शालिक निर्माणपछि यसको सरसफाई तथा संरक्षणमा समेत ध्यान दिइने उनले बताए ।
शिलान्यास कार्यक्रममा नगरप्रमुख खाँले कवि तथा लेखकको सम्मान नगर्ने देशको विकास हुन नसक्ने बताए । कवि तथा लेखकका सिर्जनाले समाजलाई प्रभावित पार्नुका साथै जीवनमा सकारात्मक परिवर्तन ल्याउन प्रेरित गर्ने उनको भनाइ थियो । आदिकवि भानुभक्त आचार्यको योगदानलाई राष्ट्रले उचित सम्मान गर्नुपर्ने उल्लेख गर्दै नगरप्रमुख खाँले सामूहिक विद्यालय परिवारले धेरै राम्रो काम गरेको भन्दै प्रशंसा गरे ।
उनले शालिक अझै ठूलो आकारको बनाउन सकिएको भए राम्रो हुने धारणा राख्दै विद्यालयहरूले यो स्थानमा समय–समयमा साहित्यिक तथा शैक्षिक कार्यक्रम आयोजना गर्नुपर्नेमा जोड दिए ।
शालिकको आगामी मंसिर २४ गते अनावरण गर्ने कार्यक्रम रहेको सामूहिक विद्यालय परिवार, रुपन्देहीका पूर्वअध्यक्ष उदय कुमार मल्लिकले जानकारी दिए । कार्यक्रममा सिद्धार्थनगर नगरपालिका–३ का वडाअध्यक्ष नारायण प्रसाद उपाध्याय, सामूहिक विद्यालय परिवारका पदाधिकारी, सदस्यहरुलगायतको उपस्थिति थियो ।

प्रतिक्रिया