कुरियरमार्फत सामान विदेश पठाउँदा घुस लिने दुई भन्सार कर्मचारीविरुद्ध मुद्दा

कुरियरमार्फत सामान विदेश पठाउँदा घुस लिने दुई भन्सार कर्मचारीविरुद्ध मुद्दा


काठमाडौं । कुरियरमार्फत सामान विदेश पठाउने सेवाग्राहीसँग घुस लिएको आरोपमा त्रिभुवन विमानस्थल भन्सार कार्यालयका दुई कर्मचारीविरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगले विशेष अदालतमा आरोपपत्र दायर गरेको छ ।

आयोगले वैदेशिक हुलाक शाखा, डिल्लीबजारमा कार्यरत भन्सार अधिकृत इन्द्र न्यौपाने र कार्यालय सहयोगी गणेशप्रसाद पुडासैनीविरुद्ध सोमबार विशेष अदालत, काठमाडौंमा आरोपपत्र दायर गरेको हो ।

अख्तियारका अनुसार उनीहरूले सेवाग्राहीको सामान कुरियरमार्फत विदेश पठाउने क्रममा विभिन्न बहाना बनाएर बार्गेनिङ गर्दै घुस मागेका थिए । दुवै कर्मचारीले आपसी मिलेमतो र पूर्वयोजनाअनुसार ९ हजार ५०० रुपैयाँ घुस लिएको अनुसन्धानबाट पुष्टि भएको आयोगले जनाएको छ ।

घुस मागेको सूचना र उजुरीका आधारमा आयोगको टोलीले उनीहरूलाई घुस रकमसहित नियन्त्रणमा लिएको थियो ।

आयोगले दुवै जनाविरुद्ध ९ हजार ५०० रुपैयाँ बिगो कायम गरी भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ३ को उपदफा (१) बमोजिम कैद र बिगो बराबर जरिवाना गर्न मागदाबी गरेको छ ।