काठमाडौं । प्रधानमन्त्री बालेन्द्र शाहको भारत भ्रमणका क्रममा घोषणा भएको २ खर्ब ४० अर्ब रुपैयाँ बराबरको सहयोगमध्ये ५६ अर्ब रुपैयाँ मात्रै अनुदान रहेको खुलेको छ । बाँकी १ खर्ब ८४ अर्ब रुपैयाँ भने ऋण सहायता हो । नेपाल र भारतबीच भ्रमणका क्रममा जारी संयुक्त वक्तव्यमा सहयोग रकमको विवरण खुलाइएको हो ।
वक्तव्यअनुसार भारतले नेपालको विकासका लागि १५ हजार करोड भारतीय रुपैयाँ (२ खर्ब ४० अर्ब नेपाली रुपैयाँ)बराबरको सहयोग उपलब्ध गराउनेछ । त्यसमध्ये विपद्पछिको पुनर्निर्माण तथा नयाँ पूर्वाधार परियोजनाका लागि ३ हजार ५०० करोड भारतीय रुपैयाँ अर्थात् ५६ अर्ब रुपैयाँ अनुदान दिइनेछ । त्यस्तै, ऊर्जा क्षेत्रका परियोजनाका लागि ११ हजार ५०० करोड भारतीय रुपैयाँ अर्थात् १ खर्ब ८४ अर्ब रुपैयाँ बराबरको भारतीय रुपैयाँमा आधारित ऋण सुविधा (लाइन अफ क्रेडिट) उपलब्ध गराइने उल्लेख छ ।
यसरी कुल सहयोगको करिब २३ प्रतिशत मात्रै अनुदान र ७७ प्रतिशत ऋण रहेको छ । प्रधानमन्त्री नरेन्द्र मोदीले निकट मित्र तथा छिमेकी राष्ट्रका रूपमा नेपालको विकास यात्रामा भारतको अविचलित समर्थन रहने प्रतिबद्धता दोहोर्याएका छन् । विकास सहायता परिचालन गर्ने प्रक्रिया र त्यसअन्तर्गत सञ्चालन हुने विशिष्ट परियोजनाहरू आपसी परामर्शमार्फत अन्तिम रूप दिइने समझदारीपत्रमा उल्लेख छ ।

प्रतिक्रिया