भारतले सहमति जनायो भैरहवा हवाई रुट दुईतर्फी बनाउन

भारतले सहमति जनायो भैरहवा हवाई रुट दुईतर्फी बनाउन


काठमाडौं। प्रधानमन्त्री बालेन्द्र शाहको भारत भ्रमणका क्रममा नेपालले लामो समयदेखि माग गर्दै आएको थप हवाई प्रवेशमार्ग उपलब्ध गराउने विषयमा सहमति जुटेको छ । सहमतिअनुसार भारतले काठमाडौं–भैरहवा–लखनउ हवाई मार्गलाई दुईतर्फी बनाउन अनुमति दिने भएको छ । यससँगै अन्तर्राष्ट्रिय उडानका लागि नेपाल प्रवेश गर्ने भैरहवा रुट उपलब्ध हुने भएको हो । नेपाल र भारतबीच जारी संयुक्त वक्तव्यको बुँदा नम्बर ८ मा हाल एकतर्फी रहेको ‘बी३४५’ हवाई मार्गलाई दुईतर्फी बनाउन दुवै पक्ष सहमत भएको उल्लेख छ ।

वक्तव्यमा भनिएको छ, ‘हाल एकतर्फी रहेको बी३४५ काठमाडौं–भैरहवा–लखनउ हवाई मार्गलाई दुईतर्फी बनाउन दुवै पक्ष सहमत भएका छन् । यस सम्बन्धमा मोडालिटीलाई अन्तिम रूप दिन तथा छलफलमा रहेका अन्य नागरिक उड्डयनसम्बन्धी प्रस्ताव सम्बोधन गर्न प्राविधिक परामर्श गरिनेछ ।’ प्रधानमन्त्री शाह र भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीबीच सोमबार भएको द्विपक्षीय वार्तामा नेपालको लामो समयदेखिको हवाई रुटसम्बन्धी माग सम्बोधन गर्ने सहमति जुटेको हो ।
नेपालले एक दशकभन्दा लामो समयदेखि भारतसँग थप हवाई प्रवेशमार्ग माग्दै आएको थियो । विशेषगरी गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल र पोखरा अन्तर्राष्ट्रिय विमानस्थललाई प्रभावकारी रूपमा सञ्चालन गर्न भारतीय आकाश हुँदै नेपाल प्रवेश गर्ने थप रुट आवश्यक रहेको नेपालको भनाइ थियो । नेपाललाई भैरहवा रुट उपलब्ध गराउने विषयमा भारतले पनि बागडोग्रा विमानस्थलका लागि नेपालसँग हवाई रुट माग्दै आएको थियो ।

अन्तर्राष्ट्रिय उडानका लागि सीमित प्रवेशमार्गमा निर्भर रहनुपर्दा नेपालको हवाई उड्डयन क्षेत्र प्रभावित हुँदै आएको छ । नयाँ सहमतिले अन्तर्राष्ट्रिय विमान कम्पनीलाई भैरहवासम्म उडान सञ्चालन गर्न सहज बनाउने र गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलको व्यावसायिक सम्भावना बढाउने अपेक्षा गरिएको छ । हवाई रुटको विषय यसअघिका प्रधानमन्त्रीहरूको भारत भ्रमणमा पनि प्राथमिकताका साथ उठ्दै आए पनि ठोस सहमति हुन सकेको थिएन । प्राविधिक, सुरक्षा तथा हवाई क्षेत्र व्यवस्थापनका विषयमा दुई देशबीच मतभिन्नता रहँदै आएको थियो ।

यसपटकको सहमतिलाई नेपालको हवाई पूर्वाधारमा भएको ठूलो लगानीको प्रतिफल प्राप्त गर्ने दिशामा महत्त्वपूर्ण उपलब्धिका रूपमा हेरिएको छ । यद्यपि, रुट सञ्चालनको मोडालिटी र अन्य प्राविधिक विषय टुंगिएपछि मात्रै यसको व्यावहारिक कार्यान्वयन हुनेछ ।