काठमाडौं । एनभिडियाले आफ्ना प्रमुख कार्यकारी अधिकृत (सीईओ) जेन्सन हुआङलाई पदबाट हटाएको केही दिनमै पुनर्बहाली गरेको छ ।
चीनका लागि जासुसी गरेको आशंका गरिएकी महिलासँग सम्बन्ध रहेको खबर सार्वजनिक भएपछि उनले दुई साताअघि राजीनामा दिएका थिए । राजीनामापछि हुआङले पुनः कम्पनीमा फर्कने प्रस्ताव गरे पनि बोर्डले अस्वीकार गरेको थियो ।
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको दबाबपछि कम्पनीले हुआङलाई पुनः नियुक्त गरेको हो । सोमबार ट्रम्पले आफूले एनभिडियाको सञ्चालक समितिलाई मनाएर हुआङलाई पुनर्बहाली गराएको बताएका थिए ।
तर, यस निर्णयपछि ट्रम्प र एनभिडिया दुवैले अमेरिकी सांसदहरूको आलोचना खेपिरहेका छन् । हुआङले आगामी साता अमेरिकी कंग्रेसमा बयान दिनुपर्ने कार्यक्रम रहेका बेला यो विवाद चर्किएको हो ।
हुआङको पुनरागमनसँगै अमेरिकी सेयर बजारमा एक सातादेखि जारी गिरावट रोकिएको छ । यसअघि एस एन्ड पी ५०० परिसूचक करेक्सनको अवस्थामा पुगेको थियो । हुआङको पुनर्बहालीपछि एनभिडियाको बजार पुँजीकरणमा झन्डै एक खर्ब अमेरिकी डलर थपिएको छ ।
हुआङले पद छाडेपछि एनभिडियाको सेयर मूल्यमा तीव्र गिरावट आएको थियो । तर, सोमबार उनी पुनर्बहाली भएपछि कम्पनीको सेयर मूल्य ३१ प्रतिशतले बढ्यो । यसले कम्पनीको बजार पुँजीकरणमा करिब एक खर्ब डलर थपेको हो ।
यद्यपि, सोमबार कारोबार बन्द हुँदासम्म एनभिडियाको सेयर मूल्य शुक्रबार बिहानको सुरुवाती मूल्यभन्दा केही तल नै थियो ।
एसियाली सेयर बजार खुल्दा एनभिडियाको सेयर मूल्यमा थप वृद्धि भएको थियो । यसले प्रविधि क्षेत्रका अन्य कम्पनीको सेयर मूल्यसमेत बढाउन मद्दत गर्यो ।
एनभिडियाका सञ्चालक समितिका अध्यक्ष हार्भे सी जोन्सले सोमबार जारी गरेको विज्ञप्तिमा भनेका छन्, ‘जेन्सन नै एनभिडियाको नेतृत्व गर्न उपयुक्त व्यक्ति हुन् भन्ने बोर्डको विश्वास छ । उनको पुनर्बहाली सेयरधनी, कर्मचारी, साझेदार र ग्राहकको हितमा छ ।’
बोर्डले अमेरिकी सरकारका उच्च तहका अधिकारीहरूबाट सुझाव प्राप्त गरेको र हुआङको पुनर्बहालीले राष्ट्रिय सुरक्षामा कुनै जोखिम नपर्नेमा आफूहरू विश्वस्त रहेको जनाएको छ ।
तर, गत मंगलबार मात्रै बोर्डले हुआङलाई पुनर्बहाली गर्ने आफ्नो कुनै योजना नरहेको स्पष्ट पारेको थियो ।
चीनको गुप्तचर निकायसँग सम्बन्ध रहेको आरोप लागेकी एलिस हुआङ नामकी महिलासँग विवाहबाहिर सम्बन्ध रहेको खबर सार्वजनिक भएपछि हुआङले नोभेम्बर १२ मा एनभिडियाबाट राजीनामा दिएका थिए ।
सोमबार अमेरिकी वाणिज्य मन्त्रालयले एलिस हुआङ प्रमुख कार्यकारी अधिकृत रहेको सिंगापुरस्थित एनभिडियाको ग्राहक कम्पनी मेगास्पिडलाई कालोसूचीमा राख्ने तयारी गरिरहेको जनाएको थियो ।
सोमबार सीएनबीसीसँगको छोटो अन्तर्वार्तामा ट्रम्पले आफूले एनभिडियाको सञ्चालक समितिसँग कुरा गरेर हुआङलाई पुनः नियुक्त गर्न मनाएको बताए । उनले सीईओलाई पुनर्बहाली गर्ने निर्णय गरेकोमा एनभिडियाको बोर्डको प्रशंसा गर्दै त्यसलाई ‘वास्तवमै जिम्मेवारपूर्ण’ कदम भने ।
ट्रम्पले भने, ‘उनीहरूले राष्ट्रिय सुरक्षामा खतरा छ कि छैन भन्ने सुनिश्चितता खोजेका थिए । हामीले आफूलाई थाहा भएका सबै विषयका आधारमा उनीहरूलाई आश्वस्त पार्यौँ । र, हामीलाई धेरै कुरा थाहा छ ।’
उनले थपे, ‘मानिसहरू सोध्छन्, उनलाई कम्पनीमा राख्नु खतरा हो? होइन, उनलाई गुमाउनु खतरा हो ।’
हुआङले राजीनामा दिएपछि एनभिडियाको सेयर मूल्यमा आएको गिरावटले आफूलाई व्यक्तिगत रूपमा हस्तक्षेप गर्न प्रेरित गरेको हो भन्ने प्रश्नमा ट्रम्पले भने, ‘सायद हो ।’
एनभिडिया र ट्रम्प प्रशासनको भूमिकाबारे अनुसन्धान गर्ने तयारी
अन्तर्राष्ट्रिय सुरक्षित तथा नैतिक कृत्रिम बुद्धिमत्ता (एआई) संघका प्रमुखले बीबीसीसँग कुरा गर्दै हुआङलाई पुनर्बहाली गर्न एनभिडियाको बोर्डमाथि ह्वाइट हाउसबाट ठूलो दबाब परेको हुन सक्ने बताएका छन् ।
क्यालिफोर्निया विश्वविद्यालय, बर्कलेका कम्प्युटर विज्ञानका प्राध्यापक तथा उक्त संघका प्रमुख स्टुअर्ट रसेलले एनभिडियाजस्ता कम्पनीको सेयर मूल्य अमेरिकी आर्थिक वृद्धिको महत्त्वपूर्ण आधार बनेको बताएका छन् ।
उनले भने, ‘आगामी केही सातामा बजार थप ओरालो लाग्ने चिन्ताले ह्वाइट हाउसले उनलाई पुनः कम्पनीमा ल्याउन दबाब दिएको हुनुपर्छ भन्ने मेरो अनुमान छ ।’
हुआङलाई ट्रम्पले खुलेर समर्थन गरे पनि उनको विवाहबाहिरको सम्बन्ध र अमेरिकी निर्यात नियन्त्रणसम्बन्धी नियम पालना गरेको विषयमा अमेरिकी सांसदहरूले प्रश्न उठाउँदै आएका छन् । यसमा केही रिपब्लिकन सांसदसमेत छन् ।
जनवरीमा डेमोक्रेटिक पार्टीले प्रतिनिधिसभामा बहुमत हासिल गरेपछि सभामुख बन्ने अपेक्षा गरिएका हाकिम जेफ्रिजले हुआङको पुनर्बहालीलाई ‘औचित्यहीन, गैरजिम्मेवारपूर्ण र बुझ्नै नसकिने’ निर्णय भनेका छन् ।
उनले कंग्रेसले ‘छिटो, विस्तृत र व्यापक अनुसन्धान’ गर्ने प्रतिबद्धता जनाएका छन् ।
उनले भने, ‘व्यक्तिगत आर्थिक लाभका लागि ट्रम्प प्रशासनले अमेरिकाको राष्ट्रिय सुरक्षा बेच्न खोजेको हामी स्वीकार गर्नेछैनौँ ।’
सोमबार यस विषयमा प्रतिक्रिया जनाउने अन्य सांसदले पनि कंग्रेसले निर्यात नियन्त्रणसम्बन्धी कडा कानुन पारित गर्नुपर्ने बताएका थिए ।
हुआङले आगामी डिसेम्बर १ मा प्रतिनिधिसभाका तीनवटा समितिसमक्ष बन्द कोठाभित्र बयान दिने कार्यक्रम छ । त्यसको दुई दिनपछि उनलाई सिनेटको बैंकिङ समितिसमक्ष पनि बयान दिन बोलाइएको छ ।
जनवरीमा डेमोक्रेटिक पार्टीले सिनेटमा बहुमत हासिल गरेपछि सिनेटको बैंकिङ समितिको अध्यक्ष बन्ने तयारीमा रहेकी सिनेटर एलिजाबेथ वारेनले पुनर्बहालीको निर्णयलाई ‘लापरबाहीपूर्ण’ भनेकी छन् ।
उनले भनिन्, ‘हुआङको पुनर्बहालीका लागि अमेरिकी सरकारका कुन उच्च अधिकारीले के सुझाव दिएका थिए भन्ने विषयमा ट्रम्प प्रशासनले कंग्रेसलाई जवाफ दिनुपर्छ ।’
रिपब्लिकन सांसदहरूले पनि यस विषयमा जवाफ मागेका छन् ।
साइबर सुरक्षासम्बन्धी प्रतिनिधिसभाको उपसमितिका अध्यक्षसमेत रहेका रिपब्लिकन सांसद डन बेकनले भने, ‘एनभिडियाले हुआङबिना नै अघि बढ्नुपर्थ्यो र उनलाई जोगाउन प्रशासनले देखाएको बुझ्न नसकिने चाहनालाई बेवास्ता गर्नुपर्थ्यो ।’
उनले थपे, ‘हामी एआईको दौड जित्न चाहन्छौँ भन्ने तर चीनलाई हाम्रो उत्कृष्ट प्रविधि दिने काम गर्न सक्दैनौँ । यसमा को जिम्मेवार छ भन्ने कुरा सार्वजनिक हुनुपर्छ ।’
सिनेटको गुप्तचरसम्बन्धी विशेष समितिका अध्यक्ष रिपब्लिकन सांसद टम कटनले भने, ‘एनभिडिया र मेगास्पिडसँग जोडिएको विवाद हिमशिलाको टुप्पो मात्रै हो । जेन्सन हुआङले आफ्नो पद फिर्ता पाउँदैमा यो विवाद समाधान हुँदैन ।’
ट्रम्पको एनभिडियामा व्यक्तिगत लगानी
गत वर्ष पुनः ह्वाइट हाउस प्रवेश गरेयता ट्रम्पले एनभिडियामा उल्लेख्य लगानी गरेका छन् । हालै सार्वजनिक भएका वित्तीय विवरणअनुसार उनले एनभिडियाको २ लाख ६५ हजार डलर बराबरको सेयर किनेका थिए भने सेप्टेम्बरमा १५ हजार डलरसम्मको सेयर बिक्री गरेका थिए ।
बीबीसीले पछिल्ला दुई वर्षका ट्रम्पका सरकारी वित्तीय विवरण अध्ययन गर्दा उनले विभिन्न लगानी खातामार्फत एनभिडियाको २ करोड ३० लाखदेखि ८ करोड ६० लाख डलरसम्मको सेयर खरिद गरेको देखिएको छ । उनले एनभिडियाको सेयर ८५ पटक छुट्टाछुट्टै खरिद गरेका छन् ।
हुआङले पद छाडेपछि एनभिडियाको सेयर मूल्यमा आएको गिरावटले ट्रम्पको उक्त लगानीको मूल्यमा पनि असर परेको हुन सक्ने देखिन्छ ।
राष्ट्रपति बनेपछि ट्रम्पले एनभिडियामा रहेको आफ्नो केही सेयर बिक्रीसमेत गरेका छन् । सरकारी वित्तीय विवरणअनुसार उनले १९ पटक सेयर बिक्री गर्दा ३५ लाखदेखि १ करोड २० लाख डलरसम्म आम्दानी गरेका छन् ।
यस विषयमा बीबीसीले ह्वाइट हाउससँग प्रतिक्रिया मागेको छ ।
ट्रम्प र ह्वाइट हाउसले राष्ट्रपतिको पदमा रहेर उनले व्यक्तिगत आर्थिक लाभ लिएको आरोप पटकपटक अस्वीकार गर्दै आएका छन् । ट्रम्पले सेयर बजारमा आएको वृद्धिबाट ‘सबैले’ पैसा कमाइरहेको बताउँदै आफ्नो लगानी खातासम्बन्धी निर्णयमा आफू संलग्न नहुने दाबी गरेका छन् ।
ह्वाइट हाउसले भने ट्रम्पले आफ्ना व्यवसाय छोराहरूले व्यवस्थापन गर्ने ट्रस्टमा राखेको जनाएको छ ।

प्रतिक्रिया