काठमाडौं । नक्कली शैक्षिक प्रमाणपत्र पेस गरेर सरकारी सेवामा नियुक्ति लिएको आरोपमा भोज बाबु सोमै मगरविरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगले मुद्दा दायर गरेको छ।
प्यूठानको सरुमारानी गाउँपालिका–४ निवासी सोमैले प्राविधिक शिक्षा तथा व्यावसायिक तालिम परिषद् (सीटीईभीटी) बाट जारी भएको देखिने सिभिल इन्जिनियरिङ विषयको डिप्लोमा तहको नक्कली प्रमाणपत्र पेस गरी दुई सरकारी निकायमा जागिर खाएको अख्तियारको अनुसन्धानबाट खुलेको छ।
अख्तियारका अनुसार उनले ओखलढुंगाको रुम्जाटार माध्यमिक विद्यालयमा करिब दुई वर्ष सहायक प्रशिक्षकका रूपमा करार सेवामा काम गरेका थिए। त्यसपछि उनले उक्त विद्यालय छाडेर संघीय खानेपानी तथा ढल व्यवस्थापन आयोजना, बुटवलमा सब–इन्जिनियर पदमा करार नियुक्ति लिएका थिए।
दुवै निकायमा नियुक्ति लिन उनले झुट्टा तथा नक्कली शैक्षिक प्रमाणपत्र पेस गरी सार्वजनिक पद, ओहदा, लाभ र सुविधा प्राप्त गरेको अख्तियारको ठहर छ।
सो कार्य भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा १६ को उपदफा (१) अनुसार कसुर भएको भन्दै अख्तियारले सोमैलाई कैद र जरिवाना सजायको मागदाबीसहित आइतबार विशेष अदालत काठमाडौंमा आरोपपत्र दायर गरेको जनाएको छ।

प्रतिक्रिया