भदौ २३ र २४ गतेका घटनालाई अन्डरमाइन्ड गर्न हुँदैन – गगन थापा

भदौ २३ र २४ गतेका घटनालाई अन्डरमाइन्ड गर्न हुँदैन – गगन थापा


काठमाडौं । नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले २०७२ सालपछि मुलुकको राजनीति पूर्णतः सत्ताकेन्द्रित भएको र १० वर्षमा जनतालाई दिनुपर्ने डेलिभरी दिन नसक्दा भदौ २३ र २४ गतेका घटना भएको बताएका छन् ।

नेपाली कांग्रेसको केन्द्रीय कार्यसमिति बैठकमा बोल्दै सभापति थापाले पछिल्लो १० वर्षमा मुलुकको जनसाङ्ख्यिक अवस्था, बसोबासको स्वरूप र अर्थतन्त्रमा ठूलो परिवर्तन आएको बताए । विश्वमा नयाँ माध्यम र प्रविधिको विकास भए पनि त्यसअनुसार राज्यले जनतालाई सेवा र सुविधा दिन नसकेको उनको भनाइ थियो ।

उनले भदौ २३ र २४ गतेका घटनालाई सामान्य रूपमा लिन नहुने बताए । ती घटनाबारे कांग्रेसले महाधिवेशनबाटै आफ्नो धारणा स्पष्ट पारिसकेको उनले उल्लेख गरे ।

थापाले भने, ‘भदौ २३ मा भएको दमन र २४ गते भएको आपराधिक घटना हुन् भनेर हामीले महाधिवेशनबाट भनेका छौँ । भदौ २३ र २४ गते भएका घटनालाई अन्डरमाइन्ड गर्न हुँदैन भन्ने निष्कर्ष निकालेका छौँ ।’

नेपाली कांग्रेस राष्ट्रिय पार्टी भएकाले यस्ता घटनालाई अंकगणितीय हिसाबले मात्रै बुझ्न नहुने पनि उनले बताए । घटनाको जरासम्म पुगेर त्यसका कारण पहिचान गर्ने र समाधानको रणनीति बनाउने जिम्मेवारी राष्ट्रिय पार्टीको भएको उनको भनाइ थियो ।