काठमाडौं । अमेरिकी सांसद जिमी गोमेजले यौन दुर्व्यवहार गरेको विश्वसनीय प्रमाण फेला परेको कंग्रेसले निष्कर्ष निकालेपछि उनले पदबाट राजीनामा दिने घोषणा गरेका छन् ।
सीबीएस न्युजका अनुसार क्यालिफोर्नियाबाट प्रतिनिधित्व गर्ने डेमोक्रेटिक पार्टीका सांसद गोमेजले कंग्रेसबाट राजीनामा दिन लागेका हुन् ।
सोमबार सार्वजनिक भएको प्रतिनिधिसभाको आचार समितिको प्रतिवेदनमा गोमेजले प्रतिनिधिसभाकै एक कर्मचारीमाथि ‘अनिच्छित यौन प्रस्ताव’ राखेको र उनीहरूबीचको शक्ति असमानतालाई बेवास्ता गरेको उल्लेख छ ।
५१ वर्षीय गोमेजले समितिको निष्कर्षप्रति असहमति जनाए पनि डिसेम्बर १ मा राजीनामा दिने बताएका छन् । पाँच कार्यकाल सांसद रहेका गोमेज यसै महिनाको मध्यावधि निर्वाचनमा लस एन्जलसको केही क्षेत्र समेटिएको निर्वाचन क्षेत्रबाट पराजित भएका थिए । उनी वर्षको अन्त्यमा सांसद पदबाट बाहिरिने तयारीमा थिए ।
सीबीएसका अनुसार सोमबार जारी गरेको विज्ञप्तिमा गोमेजले समितिको निष्कर्षसँग आफ्नो ‘गम्भीर असहमति’ रहेको बताएका छन् । तर, राजीनामा दिनुको विकल्प नरहेको उनको भनाइ छ ।
उनले भनेका छन्, ‘समितिको प्रतिवेदन कति गम्भीर छ भन्ने म स्वीकार गर्छु । यसअघि पनि मैले भनेझैँ वैवाहिक सम्बन्धबाहिर गरेका व्यक्तिगत गल्तीको पूर्ण जिम्मेवारी लिन्छु ।’
समितिले सुरुमा तत्कालीन सांसद एरिक स्वालवेलले आयोजना गरेको एउटा पार्टीमा गोमेजले आफूभन्दा कम उमेरकी कर्मचारीलाई चुम्बन गरेको भन्ने उजुरीमाथि अनुसन्धान थालेको थियो । क्यालिफोर्नियाकै डेमोक्रेटिक सांसद स्वालवेलले पनि आफूमाथि लागेको यौन दुर्व्यवहारको आरोपपछि राजीनामा दिएका थिए ।
विवाहित गोमेजमाथि अनुसन्धान भइरहेको जानकारी द्विदलीय समितिले गत अगस्टमा दिएको थियो । प्रतिनिधिसभाकी ती कर्मचारीका वकिलहरूले उनीमाथि अनुचित यौन सम्पर्कको प्रयास गरेको आरोप लगाएपछि अनुसन्धान अघि बढाइएको थियो ।
त्यतिबेला गोमेजले आफूबाट गल्ती भएको स्वीकार गरे पनि आफ्नो व्यवहार आपसी सहमतिमा भएको दाबी गरेका थिए ।
समितिले प्रतिवेदनमा ‘साक्षी १’ भनेर चिनिएकी एक महिलासँग बयान लिएको थियो । ती महिलाले आफू प्रतिनिधिसभाको कर्मचारी रहँदा गोमेजले दुईपटक अनिच्छित यौन प्रस्ताव राखेको बताएकी छन् । एउटा घटना सार्वजनिक स्थानमा र अर्को उनको संसदीय कार्यालयमा भएको प्रतिवेदनमा उल्लेख छ ।
उनका अनुसार सन् २०२४ को फेब्रुअरीमा वासिङ्टन डीसीस्थित एउटा बारमा रहेका बेला गोमेजले ‘आफ्नो स्कर्टभित्र हात हालेका थिए ।’ उनले उक्त घटनालाई कुनै पनि हिसाबले सहमतिमा नभएको बताएकी छन् ।
समितिको प्रतिवेदनअनुसार गोमेजको व्यवहारका कारण ती कर्मचारी गम्भीर र निरन्तर मानसिक तनावमा परेकी थिइन् । यही घटनाले उनलाई आफ्नो जागिर छाड्ने निर्णय गर्नसमेत बाध्य बनाएको प्रतिवेदनमा उल्लेख छ ।
ती महिलाका वकिल लिसा बैंक्स र सारा नेस्बिटले जारी गरेको विज्ञप्तिमा गोमेजले मतदाताले दिएको शक्तिको दुरुपयोग गरेको बताएका छन् । उनीहरूले गोमेजको व्यवहारले सार्वजनिक सेवामा करिअर बनाउने ती महिलाको सपना नै ध्वस्त पारेको आरोप लगाएका छन् ।
प्रतिवेदनको प्रशंसा गरे पनि वकिलहरूले गोमेजको व्यवहारलाई एक्लो घटनाका रूपमा बुझ्न नहुने बताएका छन् । उनीहरूले प्रतिवेदनमा उल्लेख गरिएको ‘विषाक्त र शिकारी प्रवृत्तिको संस्कृति’ नियन्त्रण गर्न कंग्रेसले तत्काल कदम चाल्नुपर्ने माग गरेका छन् ।
आगामी महिना गोमेजले कंग्रेस छाड्ने भएकाले उनीमाथि पर्याप्त कारबाहीका लागि समय नपुगेको आचार समितिले सोमबारको प्रतिवेदनमा जनाएको छ ।
यसैबीच, यौन दुर्व्यवहारसम्बन्धी अनुसन्धानलाई छिटो टुंग्याउने व्यवस्थासहित द्विदलीय समितिले अनुसन्धान प्रक्रिया परिमार्जन गर्ने प्रस्ताव गत साता पारित गरेको थियो ।
यस महिनाको निर्वाचनमा गोमेज आफ्नै पार्टीकी उम्मेदवार एन्जेला गोन्जालेस–टोरेससँग करिब २५ प्रतिशत मतान्तरले पराजित भएका थिए । निर्वाचन अभियानका क्रममा उनीमाथिको यौन दुर्व्यवहारसम्बन्धी अनुसन्धान प्रमुख चुनावी मुद्दा बनेको थियो ।

प्रतिक्रिया