काठमाडौं । नेपाली कांग्रेसको शेरबहादुर देउवा समूहले महाधिवेशन तयारी समिति गठन गर्ने जिम्मेवारी महाधिवेशन संयोजक डा. शशांक कोइरालालाई दिएको छ ।
बुधबार देउवा समूहको सम्पर्क कार्यालय बूढानीलकण्ठमा बसेको शीर्ष नेता, पदाधिकारी, भ्रातृ तथा शुभेच्छुक संस्थाका प्रतिनिधिसहितको बैठकले महाधिवेशन तयारीका लागि समिति गठन गर्ने जिम्मा कोइरालालाई दिने निर्णय गरेको नेता जितजंग बस्नेतले जानकारी दिए ।
महाधिवेशन सम्पन्न गर्न व्यवस्थापन समिति, स्वयंसेवक समिति र मञ्च व्यवस्थापन समितिलगायत करिब १५ देखि २० वटा समिति गठन गर्नुपर्ने भएकाले ती सबै समिति बनाउने अधिकार कोइरालालाई दिइएको बस्नेतले बताए । उनका अनुसार संयोजकले बिहीबारसम्म निर्णय गरेपछि समितिका संयोजकहरू तोकिनेछन् । त्यसपछि उनीहरूले आफ्नो समितिमा सदस्य राखेर महाधिवेशनका काम अघि बढाउनेछन् ।
त्यस्तै, कांग्रेस नेता कुन्दनराज काफ्लेले आफू रुख चिह्नबाट निर्वाचित प्रदेशसभा सांसद रहेको उल्लेख गर्दै आफूलाई कांग्रेस होइन भनेर कारबाही गर्ने अधिकार कसैसँग नरहेको बताए । आफूहरूले १४औँ महाधिवेशनदेखि नै महाधिवेशनको तयारी गर्दै आएको भन्दै उनले कारबाहीको कुनै आधार नभएको जिकिर गरे ।
पार्टीभित्र दुईवटा महाधिवेशन भइरहेका सन्दर्भमा काफ्लेले पार्टी कार्यालय ‘हाइज्याक’ गरेर विशेष महाधिवेशन गर्न खोज्ने पक्षले नै विवाद समाधानका लागि छलफलको नेतृत्व गर्नुपर्ने बताए ।
देउवा समूहले मंसिर २१, २२ र २३ गते महाधिवेशन गर्ने भन्दै तयारी गरिरहेको छ ।

प्रतिक्रिया