होल्डिङ सेन्टरबाट सुकुम्बासी हटाउने निर्णय फिर्ता लिन कांग्रेसको माग

होल्डिङ सेन्टरबाट सुकुम्बासी हटाउने निर्णय फिर्ता लिन कांग्रेसको माग


काठमाडौं । नेपाली कांग्रेसले वैकल्पिक आवासको व्यवस्था नगरी होल्डिङ सेन्टरबाट समेत सुकुम्बासी परिवारलाई हटाउने सरकारको निर्णय तत्काल फिर्ता लिन माग गरेको छ ।

कांग्रेस केन्द्रीय कार्यसमितिको बिहीबार बसेको बैठकले विस्थापित सुकुम्बासी परिवारलाई अस्थायी आश्रयबाट समेत हटाउने सरकारको निर्णयप्रति आपत्ति जनाउँदै सुरक्षित, सम्मानजनक र दिगो पुनर्वासको व्यवस्था गर्न माग गरेको हो ।

सभापति गगनकुमार थापाको सभापतित्वमा पार्टी केन्द्रीय कार्यालय ललितपुरमा बसेको बैठकले सरकारको निर्णय संविधानप्रदत्त आवासको हक, प्रचलित कानुन र सामाजिक न्यायको मर्मविपरीत रहेको ठहर गरेको छ ।

कांग्रेसले सरकारले सुकुम्बासीका घर भत्काएर व्यवस्थापन र लालपुर्जाको आश्वासन दिएको तर महिनौँसम्म अनिश्चिततामा राखेर अहिले अस्थायी आश्रयबाट समेत हटाउन खोजेको आरोप लगाएको छ ।

‘राज्य नागरिकको अभिभावक हो । घरबारविहीन नागरिकलाई आश्रय दिनु राज्यको दायित्व हो, उनीहरूको बाँकी रहेको आश्रयसमेत खोस्नु होइन,’ बैठकको निर्णयमा भनिएको छ ।

सरकारसँग कानुनको पालना गर्ने विवेक मात्र नभई नागरिकको पीडा बुझ्ने करुणा पनि हुनुपर्ने भन्दै कांग्रेसले असहाय नागरिकप्रतिको सरकारको व्यवहारमा मानवीय संवेदनाको अभाव देखिएको टिप्पणी गरेको छ ।

भूमिहीन तथा अव्यवस्थित बसोबासीको समस्या दमन र विस्थापनबाट नभई न्यायपूर्ण, मानवीय र दीर्घकालीन समाधानबाट सम्बोधन गर्नुपर्ने कांग्रेसको भनाइ छ । सुकुम्बासी समस्या समाधानका नाममा नागरिकलाई नै विस्थापित गर्ने नभई उनीहरूको समस्या समाधान गर्नुपर्ने कांग्रेसले जनाएको छ ।

यसैबीच, कांग्रेसले होल्डिङ सेन्टरको समन्वय र सहजीकरणका लागि केन्द्रीय सदस्य केशव निरौलाको संयोजकत्वमा तीन सदस्यीय समिति गठन गरेको छ । समितिमा केन्द्रीय सदस्य मदनकृष्ण श्रेष्ठ र प्रबल थापा सदस्य छन् ।

मंसिर ८ गते सुरु भएको केन्द्रीय कार्यसमिति बैठकमा बिहीबारसम्म ७० जना केन्द्रीय सदस्यले धारणा राखेका छन् । धारणा राख्ने क्रम जारी रहेकाले बैठक शुक्रबार बिहान ८ः३० बजे पुनः बस्ने कांग्रेसले जनाएको छ ।

बिहीबारको बैठकमा केन्द्रीय सदस्यहरू, विभिन्न प्रदेशका सभापति तथा अन्य नेताहरूले आ–आफ्नो धारणा राखेका थिए । प्रदेश सभापतिहरू उद्धव थापा (कोशी), अमरसिंह पुन (लुम्बिनी) र ललितजंग शाही (कर्णाली) ले पनि बैठकमा धारणा राखेका थिए ।

त्यस्तै, केन्द्रीय सदस्य बाला अधिकारीसहित विदेशस्थित नेपाली जनसम्पर्क समितिबाट प्रतिनिधित्व गर्ने केन्द्रीय सदस्यहरू सीता सापकोटा घिमिरे, डा. बलराम श्रेष्ठ, जीतेन्द्रविक्रम शाही र चन्द्रा अधिकारीले लिखित धारणा पठाएका थिए ।