आफैँलाई ‘देश निकाला’ गर्ने हसिनाको ‘स्वदेश फिर्ती’ को अधिकारलाई गरिन् तस्लिमा नसरिनले समर्थन

आफैँलाई ‘देश निकाला’ गर्ने हसिनाको ‘स्वदेश फिर्ती’ को अधिकारलाई गरिन् तस्लिमा नसरिनले समर्थन


काठमाडौं । तीन दशक बढी समयदेखि निर्वासित जीवन बिताइहेकी चर्चित बंगलादेशी लेखिका तस्लिमा नसरिनले पूर्वप्रधानमन्त्री शेख हसिना वाजेदको स्वदेश फिर्तीको घोषणालाई समर्थन गरेकी छन् ।

सन् २०२४ को अगस्टदेखि भारत पलायन भएकी हसिना बंगलादेशकी अपदस्थ प्रधानमन्त्री हुन् । युवा विद्यार्थी विद्रोहपछि उनी देश छोडेर भागेकी थिइन् । उनले डिसेम्बर १६ अर्थात् देशको स्वतन्त्रता दिवस पारेर स्वदेश फर्किने घोषणा गरेकी छन् । हसिनाको स्वदेश फिर्ताको घोषणापछि बंगलादेशमा फेरि हिंसा भड्किएको छ ।

यता बंगलादेशमा नयाँ चुनाव भएर तारिक रहमान नेतृत्वको सरकार बनेको छ । हसिनाको दल अवामी लिगमाथि प्रतिबन्ध लगाइएको छ । विशेष अदालतले हसिनालाई मृत्युदण्डको फैसला सुनाएको छ । हसिना स्वदेश फर्किने घोषणासँगै अवामी लिगका कार्यकर्ता सक्रिय हुन थालेका छन् । उनीहरू बन्द, हडताल र प्रदर्शनहरू आयोजना गर्दैछन् । यस क्रममा हिंसात्मक झडप र आगजनी भइरहेका छन् ।

हसिनाको स्वदेश फिर्तीको घोषणा लागू हुने नहुने अनिश्चित छ । अन्तर्राष्ट्रिय समुदायले समेत चासो दिएको छ । यस्तो बेला लेखिका तस्लिमा नसरिनले हसिनाको घोषणालाई समर्थन गरेकी हुन् ।

स्मरणीय छ– तिनै लेखिका नसरिनलाई हसिनाले सन् १९९९ मा देश निकाला गरेकी थिइन् । सन् १९९१ मा भारतमा बाबरी मस्जिदको ध्वंशपछि बंगलादेशी हिन्दु परिवारमाथि भएको अत्याचारको चित्रण गर्दै ‘लज्जा’ उपन्यास लेखे वापत उनले सन् १९९४ मा देश छोड्नु परेको थियो ।

त्यतिखेर बंगालादेशमा बेगम खालिदा जियाको सरकार थियो । इस्लामिक अतिवादी समूहले ज्यान मार्ने धम्की दिएपछि उनी देश छोड्न बाध्य भएकी थिइन । खालिदा जिया सरकार उनको सुरक्षा व्यवस्था मिलाउन अनिच्छुक देखिएको थियो । अहिलेका प्रधानमन्त्री तारिक रहमान बेगम खालिदा जियाकै छोरा हुन् ।

सन् १९९९ लेखिका नसरिन आफ्नी आमालाई भेट्न देश फर्किएकी थिइन् । तर, हसिनाको सरकारले उनलाई देश निकाला गरेको थियो । त्यसयता उनी बंगलादेश फर्किन पाएकी छैनन् । भारतमा निर्वासित जीवन बिताइरहेकी छिन् । दशकौं लामो सत्तामा बस्दा हसिनाले नसरिनका लागि कहिल्यै स्वदेश फिर्तीको वातावरण बनाउन चाहिनन् ।

आफैँ निर्वासित जीवन बिताइरहेकी तिनै लेखिकाले भने हसिनाको स्वदेश फिर्तीको अधिकारलई खुलेर समर्थन गरेकी हुन् । बुधवार सामाजिक सञ्जाल ‘एक्स’ मा एक लामो सन्देश लेख्दै उनले हसिनालाई मात्र होइन, ‘सबै मानिसलाई आफ्नो देश फर्किने अधिकार हुन्छ र त्यो हसिनालाई पनि छ’ भनेकी छिन् । निर्वासित लेखकाको यो भनाइलाई अन्तर्राष्ट्रिय समुदायले अर्थपूर्ण रूपमा लिएको छ ।

उनले आधुनिक, शिक्षित, विज्ञानसम्मत, तार्किक र धर्म निरपेक्ष बंगलादेशको चाहनालाई पनि दोहोर्‍याएकी छिन् । यस्तो छ लेखिका नसरिनले शेख हसिनाको स्वदेश फिर्तीलाई समर्थन गर्दै लेखेको सन्देश:

शेख हसिनालाई आफ्नो देश फर्किने अधिकार छ । उनीमाथि लगाइएका आरोपहरूको जवाफ दिने, स्वतन्त्र तथा निष्पक्ष न्यायालय समक्ष आफ्नो प्रतिरक्षा गर्ने, आफूले रोजेको कानुन व्यवसायीबाट सहयोग प्राप्त गर्ने अधिकार छ ।

आरोपहरू जतिसुकै गम्भिर हुन्, कसैलाई पनि न्यायको अधिकारबाट वञ्चित गर्न सकिँदैन ।

आफ्नो देश फर्किन पाउने अधिकार न सरकारको उदारता, दानशीलता हो न कृपा । कसैलाई पनि स्वेच्छाचारी ढंगले यो अधिकारबाट वञ्चित गर्न पाइँदैन ।

हसिनामाथिका सुनुवाइहरू प्रमाणमा आधारित हुनुपर्दछ । दोषी ठहरिएको वा सजाय सुनाइएको अवस्थामा माथिल्लो तहको अदालतमा पुनरावेदन गर्ने अवसर हुनुपर्दछ । यी अन्तर्राष्ट्रिय रूपमा मान्यता प्राप्त अधिकार हुन् ।

यदि उनी दोषी ठहरिन्छिन् भने कानुन बमोजिम जवाफदेही बनाइनुपर्दछ । साथै, उनको सुरक्षा सुनिश्चित गर्ने जिम्मेवारी राज्यले लिनुपर्दछ ।

शेख हसिनाको राजनीतिलाई आलोचना गर्दा पनि उनको घर फिर्ता हुने अधिकारलाई भने स्वीकार गर्नुपर्दछ । उनको शासनकाल भएका गलत कार्यको विरोध गर्दा पनि उनीमाथि हुने अन्यायको विरोध गर्न सकिन्छ । यदि मानवअधिकार आफूलाई मन पर्ने मानिसका लागि मात्र लागू हुने हो भने त्यो मानवअधिकार नै रहँदैन ।

कुनै पनि देश कुनै राजनीतिक दल वा शासकको निजी सम्पत्ति होइन। हसिनालाई पनि स्वदेश फर्किने, राजनीतिमा संलग्न हुने र आफ्नो दललाई संगठित गर्ने अधिकार हुनुपर्दछ । उनको दलमाथि लगाइएको प्रतिबन्धविरुद्ध शान्तिपूर्ण रूपमा विरोध जनाउने र त्यस्ता निर्णयलाई न्यायालयमा चुनौती दिने अवसर हुनुपर्दछ ।

राजनीतिक अधिकारमा लगाइने कुनै पनि प्रकारको प्रतिबन्धको कानुनी र तर्कसंगत आधार हुनुपर्दछ । निर्वाचनमा उम्मेदवार बन्नका लागि योग्यता र अयोग्यता सम्बन्धि सर्तहरू हनु सक्दछन् तर, ती शर्त सबैमा समान रूपले लागू हुनुपर्दछ । यदि उनले आवश्यक मापदण्ड पूरा गरिन् भने हसिनलाई पनि उम्मेदवार हुने अधिकार हुनुपर्दछ ।

यदि उनको दलले निर्वाचनमा कानुनसम्मत ढंगले भाग लिई स्वतन्त्र तथा निष्पक्ष निर्वाचनमा बहुमत प्राप्त गर्छ भने संवैधानिक प्रक्रियामार्फत सरकार गठन गर्ने अवसर पाउनुपर्छ । उनले सरकर प्रमुख बन्न आवश्यक संवैधानिक आवश्यकताहरू पूरा गर्नुपर्दछ ।

जुनसुकै दल सत्तामा आए पनि मेरा मागहरू समान रहनेछन् ।

म चाहन्छु कि जिहादी उग्रवादीहरूलाई निर्मूल पारिओस् । म चाहन्छु कि उग्रवादी संगठनहरू विघटित हुन् । तिनको प्रशिक्षण र अर्थिक स्रोत बन्द गरियोस् । तिनलाई प्राप्त राजनीतिक संरक्षण अन्त्य होस् । म चाहन्छु कि यस्ता संगठनले हिंसाका लागि उस्काउने र धर्मका नाममा गर्ने अपराधका लागि मुद्दा चलाइयोस् । म चाहन्छु कि इस्लामिक उपदेश र मदरसाहरू बन्द गरिउन् । तिनको साटो विज्ञानमा आधारित धर्म निरपेक्ष शैक्षिक संस्थाहरू बनुन् ।

प्रत्येक बालवालिकाले विज्ञान र इतिहास सिक्नुपर्छ । प्रश्न गर्न, तार्किक र विवेकसम्मत ढंगले सोच्न सिक्नुपर्छ । प्रत्येक वालवालिकाले महिलालाई समान मानवका रुपमा हेर्न सिक्नुपर्छ । साथै, विभिन्न धर्म मान्नेहरू, भिन्न विचार राख्नेहरू र धर्ममा विश्वास नराख्नेहरूको समान अधिकारलाई स्वीकार गर्न सिक्नुपर्छ ।

राज्यले एकपक्षीयता, सम्प्रदायिकतावाद, महिलाप्रतिको घृणा, क्रूरता, बलात्कार, हत्या, भ्रष्टाचार र आतंकवादविरुद्ध कडा कदम चाल्नुपर्दछ ।

कुनै पनि अपराधिलाई धार्मिक पहिचान, धन, शक्ति वा राजनीतिक पहुँचका आधारमा संरक्षण दिइनु हुँदैन । महिला स्वतन्त्र रूपमा बाँच्न पाउनुपर्छ । अल्पसंख्यकहरू सुरक्षित हुनुपर्छ । र, मानिसले कुनै डर बिना आफ्ना विचार व्यक्त गर्न पाउनुपर्छ ।

कुनै पनि राजनीतिक दल वा धार्मिक समूहलाई कसले के बोल्ने वा लेख्ने, कस्तो पहिरन लगाउने वा कोसँग प्रेम गर्ने भन्ने कुरा तय गर्ने अनुमति दिनु हुँदैन । मानिस साँचो अर्थमा शिक्षित र मानवीय हुनुपर्दछ ।

प्रगतिको मापन गर्दा मानिसको नैतिक आचरणलाई पनि विचार गर्नुपर्दछ । अरुको अधिकारलाई सम्मान गर्न सिक्नु, आफैँ पक्षका मानिसले गल्ती गर्दा पनि त्यसको निन्दा गर्न सक्नु, कमजोर वा जोखिममा परेका मान्छेहरूको साथमा उभिनु–यी कुनै पनि देशका लागि प्रगतिका मापदण्ड हुन् ।

गाँस, बास, कपास, शिक्षा र स्वस्थ्य सेवा सबैका लागि उपलब्ध हुनुपर्दछ । धनी र गरि बीचको खाडल साँघुरिनै पर्छ । गरिब परिवारका बालबालकिाले पनि राम्रो शिक्षा पाउनुपर्छ । खर्च जुटाउन नसकेको कारण कुनै पनि बिमारी उपचारबाट बञ्चित हुनु हुँदैन ।

देशका स्रोत साधन र अवसरहरूमा सबैको न्यायोचित हिस्सा हुनुपर्दछ । राज्यले गर्ने हरेक निर्णयमा मानिसको जीवन, स्वतन्त्रता र मर्यादालाई प्राथमिकतामा राखिनुपर्दछ ।