काठमाडौं । मलेसिया गैरकानुनी रूपमा रकम पठाउने निर्णय प्रक्रियामा संलग्न रहेको आरोपमा पक्राउ परेका पूर्वमुख्यसचिव एकनारायण अर्याललाई अनुसन्धानका लागि चार दिन हिरासतमा राख्न अदालतले अनुमति दिएको छ ।
नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) ले बिहीबार पक्राउ गरेका अर्याललाई शुक्रबार काठमाडौं जिल्ला अदालतमा उपस्थित गराएको थियो । अदालतले उनीमाथि अनुसन्धान अघि बढाउन प्रहरीलाई चार दिनको समय दिएको हो ।
अर्यालमाथि नेपाल र मलेसिया सरकारबीच भएको सम्झौताविपरीत गैरकानुनी रूपमा संकलन गरिएको रकम मलेसिया पठाउने निर्णय प्रक्रियामा संलग्न रहेको आरोप छ ।
सीआईबीका अनुसार अमेरिकी डलर ८३ लाख ७० हजार ४३९ दशमलव ९२ र बेलायती पाउन्ड ३७ लाख १७ हजार ९८० दशमलव ८० गरी कुल एक अर्ब ६९ करोड दुई लाख २४ हजार २६ रुपैयाँ ७६ पैसा गैरकानुनी रूपमा मलेसिया पठाइएको विषयमा अनुसन्धान भइरहेको छ ।
उक्त रकम विदेश पठाउने निर्णय प्रक्रियामा प्रत्यक्ष संलग्न रही आर्थिक लाभ लिने तथा दिलाउने कार्यमा समेत अर्यालको भूमिका रहेको आरोप छ ।
विकास रानाभाटसमेतको जाहेरीका आधारमा नेपाल सरकार वादी र कैलाश खड्कासमेत प्रतिवादी रहेको ठगी तथा सङ्गठित अपराधसम्बन्धी मुद्दामा अनुसन्धान अघि बढाइएको सीआईबीले जनाएको छ ।

प्रतिक्रिया