एलपी ग्यास आपूर्तिमा वृद्धि, एकैदिन १६१ बुलेट लोडिङ

एलपी ग्यास आपूर्तिमा वृद्धि, एकैदिन १६१ बुलेट लोडिङ


काठमाडौं । बजारमा खाना पकाउने एलपी ग्यासको सहज आपूर्ति सुनिश्चित गर्न सरकारले थालेको पहलपछि एकै दिन १६१ बुलेट ग्यास लोडिङ भएको छ ।

सामान्य अवस्थामा दैनिक औसत ११० देखि १२० बुलेट ग्यास लोडिङ हुँदै आएकोमा २६ नोभेम्बरमा १६१ बुलेट लोडिङ भएको नेपाल आयल निगमले जनाएको छ । यो सामान्य अवस्थाको तुलनामा उल्लेखनीय वृद्धि हो ।

उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्रीको निर्देशनपछि निगमले भारतीय आयल कर्पोरेसन (आईओसी) सँग समन्वय गरी ग्यास लोडिङ बढाउन अनुरोध गरेको थियो । बजारमा ग्यासको माग बढ्न सक्ने अवस्थालाई ध्यानमा राख्दै मन्त्रीले दैनिक १६० बुलेटसम्म ग्यास लोडिङको व्यवस्था मिलाउन निगम व्यवस्थापनलाई निर्देशन दिएका थिए ।

निगमका अनुसार लोडिङ बढेसँगै बजारमा ग्यासको आपूर्ति व्यवस्थापन थप सहज हुने अपेक्षा गरिएको छ । हाल बजारमा ग्यासको बिक्री वितरण नियमित रहेको र उपभोक्तालाई सहज रूपमा उपलब्ध गराउने प्रयास भइरहेको निगमले जनाएको छ ।

सरकारले ग्यासको माग र आपूर्तिको अवस्थालाई नियमित अनुगमन गर्दै आयात, ढुवानी तथा वितरण प्रणाली प्रभावकारी बनाउने जनाएको छ । उपभोक्ताले दैनिक उपभोगका लागि आवश्यक ग्यास सहज रूपमा प्राप्त गर्न सकून् भन्ने उद्देश्यले सम्बन्धित निकायबीच समन्वयलाई प्राथमिकता दिइएको सरकारको भनाइ छ ।

खाना पकाउने ग्यासजस्तो अत्यावश्यक वस्तुको आपूर्तिमा अवरोध आउन नदिन मन्त्रालय र निगमले निरन्तर निगरानी तथा आवश्यक व्यवस्थापन गर्ने प्रतिबद्धता जनाएका छन् ।