काठमाडौं । परराष्ट्र मन्त्रालयले प्रधानमन्त्री बालेन्द्र शाहको भारतको राजकीय भ्रमणका क्रममा भएका सहमति, समझदारी तथा निर्णय कार्यान्वयनका लागि सम्बन्धित मन्त्रालय र निकायहरूसँग समन्वय सुरु गरेको जनाएको छ ।
मन्त्रालयका प्रवक्ता लोकबहादुर पौडेल क्षेत्रीले नियमित पत्रकार सम्मेलनमा प्रधानमन्त्रीको भारत भ्रमणका क्रममा जारी भएको नेपाल–भारत संयुक्त दृष्टिकोणपत्र (जोइन्ट भिजन डकुमेन्ट) लगायतका सहमति कार्यान्वयनलाई प्राथमिकतामा राखेर काम अघि बढाइएको जानकारी दिए ।
उनले भने, ‘ प्रधानमन्त्रीज्यूको भारत भ्रमणका क्रममा भएका सहमति, समझदारी तथा निर्णयहरू कार्यान्वयनका लागि परराष्ट्र मन्त्रालयले काम अगाडि बढाइसकेको छ । संयुक्त दृष्टिकोणपत्रमा उल्लेख भएका विषयहरूलाई कार्यान्वयनमा लैजान सम्बन्धित मन्त्रालय तथा निकायहरूसँग पत्राचार र समन्वय सुरु भइसकेको छ । यसको प्रगतिको विषयमा पनि समय–समयमा जानकारी गराउँदै जानेछौँ ।’
उनका अनुसार संयुक्त पत्रमा समेटिएका विषयलाई प्रभावकारी रूपमा कार्यान्वयन गर्न परराष्ट्र मन्त्रालयको दक्षिण एसिया महाशाखाले सम्बन्धित निकायहरूसँग पत्राचार तथा समन्वय सुरु गरिसकेको छ । सहमति र समझदारीको कार्यान्वयनको प्रगतिको नियमित अनुगमनसमेत गरिने उनले बताए ।
यसैगरी, साउदी अरबमा भएका दुई छुट्टाछुट्टै आक्रमणमा परी घाइते भएका चार नेपालीमध्ये एक जनाको मृत्यु भएको, एकजना उपचारपछि अस्पतालबाट फर्किएको र दुई जना उपचाररत रहेको प्रवक्ता क्षेत्रीले जानकारी दिए ।
मृतकको शव नेपाल ल्याउन रियादस्थित नेपाली राजदूतावासले आवश्यक प्रक्रिया अघि बढाएको उनले बताए ।
पत्रकार सम्मेलनमा नेपाल–जापान कूटनीतिक सम्बन्ध स्थापनाको ७०औँ वर्षगाँठ, नेपाल–फिनल्यान्ड द्विपक्षीय परामर्श संयन्त्रको बैठक, नेपाल–चीन व्यापार तथा सीमा नाकाको सहज आवागमन, आर्थिक कूटनीति र क्षेत्रीय सहकार्यका विषयमा समेत जानकारी गराइएको थियो ।
नेपाल–चीन व्यापारका सम्बन्धमा रसुवागढी नाका अवरुद्ध भएपछि तातोपानी–झाङ्मु नाकाबाट ठूला मालवाहक ट्रक तथा कन्टेनर सञ्चालन सहज बनाउने विषयमा चीन सरकार र सम्बन्धित निकायसँग समन्वय भइरहेको पनि मन्त्रालयले जनाएको छ ।
उनले भने, ‘रसुवागढी नाका अवरुद्ध भएपछि नेपाल–चीन व्यापारलाई सहज बनाउन तातोपानी–झाङ्मु नाकाबाट ठूला मालवाहक ट्रक तथा कन्टेनर सञ्चालनका लागि आवश्यक समन्वय भइरहेको छ । यसका लागि सम्बन्धित निकायहरू र मित्रराष्ट्र चीन सरकारसँग छलफल तथा समन्वयलाई अघि बढाइएको छ । यस विषयमा हुने प्रगतिबारे पनि मन्त्रालयले जानकारी गराउँदै जानेछ ।’
त्यस्तै, नेपाल–भारत प्रबुद्ध व्यक्ति समूह (ईपीजी) को प्रतिवेदन दुवै देशका प्रधानमन्त्रीसमक्ष प्रस्तुत गर्ने अपेक्षा गरिएको प्रवक्ता क्षेत्रीले बताए । नेपाल–भारत सीमा समस्याको समाधानका लागि दुवै देशका स्थापित संयन्त्रमार्फत कूटनीतिक प्रक्रिया अघि बढाउने प्रतिबद्धता व्यक्त भएको उनको भनाइ थियो ।

प्रतिक्रिया