भाइरल ज्वरोबाट २ जनाको मृत्यु, गाउँ नै प्रभावित

भाइरल ज्वरोबाट २ जनाको मृत्यु, गाउँ नै प्रभावित


बाजुरा ।

खप्तड छेडेदह गाउँपालिका २ माटेसागुमा भाइरल ज्वरोबाट २ जनाको मृत्यु भएको छ।

४९ वर्षीया सौरादेवी बुढा र ६२ वर्षीय कुलबहादुर शाहीको मृत्यु भएको हो । बुढाको ४ दिन पहिला र शाहीको आइतबार राति मृत्यु भएको हो।

भाइरल ज्वरोबाट प्रभावित दुवैजनाको मृत्यु भएको स्थानीय गणेशबहादुर शाहीले बताए।

गाउँका सबै घरमा बिरामी परेका छन् । भाइरल ज्वरोले पुरै गाउँ नै प्रभावित भएको शाहीले अन्नपूर्णलाई जानकारी दिए। गाउँमा भाइरल ज्वरो फैलिएको एक हप्ता भइसकेको छ। उपचारका लागि पहल गर्दा पनि कतैबाट स्वास्थ्यकर्मी नआएको स्थानीयले बताएका छन्।

बिरामीमा १ सय ३ डिग्रीमाथि ज्वोरो आउने, खोकी लाग्ने, श्वास फुल्नेजस्ता लक्षण देखा परेको स्थानीयले बताएका छन् । गाउँमा भाइरल ज्वरो फैलिएको खबर पाएपछि स्वास्थ्यकर्मीको टिम पठाउन लागेको स्वास्थ्य कार्यलय बाजुराका निमित्त प्रमुख महेश चन्दले बताएका छन् ।

खप्तडछेडेदह गाउँपालिकाबाट दुईजना स्वास्थ्यकर्मी पठाइसकेको र जिल्ला स्वास्थ्य कार्यलयबाट औषधिसहितको टोलि पठाउन लागेको उनले बताए।

भाइरल ज्वरोबाट वृद्धवृद्धा, बालबालिका र दिर्घरोगी सबैभन्दा बढी प्रभावित भएका छन् । स्वास्थ्य चौकी १ घण्टा टाढा रहेकाले उपचारमा जान निकै समस्या भएको छ । ु घरका सबै बिरामी परेका छन्। बोकेर लैजाने कोही छैन्। वर्षात्ले सडक बन्द भएपछि घरमै बिरामी परेर थला परेका छन्,ु स्थानीय गणेश शाहीले भने ।

वडा तथा पालिकामा पटकपटक जानकारी गराउँदा पनि अहिलेसम्म स्वास्थ्यकर्मी नपुगेको उनले बताए । कसैको घरमा पानी दिने व्यक्तिसमेत नरहेको उनको भनाइ छ।

खप्तड छेडेदह गाउँपालिका अध्यक्ष दिलबहादुर रावतले स्वास्थ्यकर्मी टोलि प्रभावित क्षेत्रमा पठाइसकेको बताएका छन्। ल्याबसहितको टोलि पठाएको र रोगको पहिचान र नियन्त्रण नभए जिल्ला, प्रदेश, संघमा सहयोगको लागि आग्रह गरिने बताए।