१० अर्ब ४४ करोड लागतमा राप्ती नदी नियन्त्रण सुरू

१० अर्ब ४४ करोड लागतमा राप्ती नदी नियन्त्रण सुरू


बाँके ।

बाँकेमा राप्ती नदीले बर्सेनि कटान गर्दै आएकाले नियन्त्रणका लागि पश्चिम राप्ती नदी नियन्त्रण आयोजना सुरू हुने भएको छ ।

‘जनताको तटबन्ध कार्यक्रम’अन्तर्गत आयोजना कार्यान्वयनको प्रक्रिया सुरू भइसकेको स्थल कार्यालय नं ६ लमहीका प्रमुख धर्मकुमार न्यौपानेले जानकारी दिए ।

“आयोजनाअन्तर्गत राप्ती नदीको कटान नियन्त्रणका लागि करिब ३५ किलोमिटर तटबन्ध र अन्य संरचना प्रस्ताव गरिएको छ”, उनले भने, “योजना कार्यान्वयन अघि प्रारम्भिक वातावरणीय परीक्षणको मस्यौदाको प्रतिवेदन तयारीका लागि सरोकारवाला निकायसँग राप्तीसोनारी गाउँपालिका–६ फत्तेपुरमा सार्वजनिक सुनुवाइ गर्दैछौँ ।”

भारत सरकारको जल संसाधन, नदी विकास एवं गङ्गा संरक्षण विभागसँगको सम्झौताअनुसार नेपाल सरकारले आयोजना कार्यान्वयनको प्रक्रिया अगाडि बढाएको प्रमुख न्यौपानेले बताए। उनका अनुसार आर्थिक वर्ष २०८४÷८५ मा सम्पन्न गर्ने गरी १० अर्ब ४४ करोड ८१ लाखको लागतमा उक्त आयोजना सुरू गर्न लागिएको हो ।

आयोजनाअन्तर्गत बाँकेको राप्ती सोनारी, डुडुवा र नरैनापुर गाउँपालिकामा राप्ती नदीमा बायाँतर्फ १५.४६२ किलोमिटर र दायाँतर्फ १९.३७१ किलोमिटर गरेर जम्मा ३४.८३३ किलोमिटर तटबन्ध गरिने तयारी भएको प्रमुख न्यौपानेले जानकारी दिए ।

“पानीको प्राकृतिक प्रवाह नै अवरुद्ध हुने गरी भारतले बाँकेको होलिया नजिकै एकतर्फी रूपमा १३ किलोमिटर लामो कलकलवा तटबन्ध निर्माण गरेपछि नेपालबाट दक्षिण बग्ने खोलानालाको प्राकृतिक प्रवाह रोकिँदा नेपाली भूमि डुबानमा पर्दै आएको छ”, उनले भने ।