८४ सालमा हाम्रो जमानत जफत होस् : रवि लामिछाने

८४ सालमा हाम्रो जमानत जफत होस् : रवि लामिछाने


काठमाडौं ।
राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने ४ वर्षपछि हुने संसदीय निर्वाचनमा आफ्नाजस्ता नयाँ दलको जमानत जफत हुने गरी पुराना दललाई काम गर्न अपिल गरेका छन्।

शुक्रबार सामाजिक सञ्जालमार्फत् लामिछानेले नयाँ दल वा पुराना दलमध्ये एउटाको राजनीतिक सटर बन्द हुनै पर्ने बताएका छन्।

उनले सबै पुराना दललाई सहमति गरेर सरकार चलाउन आग्रह गर्दै आफूहरूले प्रतिपक्षी मोर्चा सम्हाल्ने बताएका छन्।

के लेखेका छन् रविले ?

सम्पूर्ण पुराना दलहरूलाई अपिल :

देशमा ब्याप्त बेथितिलाई ठीक गर्ने अन्तिम अवसरका रूपमा अब यो ४ वर्ष तपाईंहरू सबै मिल्नुस्। देशका तमाम समस्या सुल्झाउन हामी बाहेकको सहमतीय सरकार बनाउनुस्। हामी प्रतिपक्षी मोर्चा सम्हाल्छौं। यो अवसरको सदुपयोग गरेर ३३ वर्षमा गरेका गलत काम सच्याउने हो कि मिलेमतो गरेर तिनलाई ढाक छोप गरी प्रमाण लुकाएर, थप अपराधीहरूलाई छुटाउने बचाउने हो त्यो तपाईंहरूको जिम्मा।

तर ‘मिसन ८४’ भनेर तपाईंहरूले भनेको त फिटिक्कै सुहाएन। तपाईंको लागि त मिसन ८० नै छ त१ मिसन ०७ सालदेखि निरन्तर मिसन नै मिसन थियो त११ केही नभए पनि मिसन ६३ देखि त अवसर नै अवसर थियो होला। अझ मिसन ८०, मिसन८१, मिसन८२, मिसन ८३ छँदै छ त१ यो ४ वर्ष सबै मिलेर यसरी काम गर्नुस् कि हामीजस्ता नयाँ, लोकरिझ्याइँवाला, सिद्धान्त नभएका, आफ्नै सहिद नभएका दललाई पुरै असान्दर्भिक बनाइदिनुस्।

४/४ वर्ष बाँकी छ, गर्नुस् काम र देखाइदिनुस् आफ्नो अपार क्षमता। जनताले तपाईंहरूलाई यसरी भोट दिऊन् कि हाम्रो जमानत जफत होस्। ४ वटा सही निर्णयले मात्रै पनि मुलुकमा धेरै सुधार हुन सक्छ, तपाईंहरूसँग ४/४ वर्ष छ। गर्नुस् निर्णय र देखाइदिनुस् हामी सबैलाई।

राजनीतिको एउटा सटर त बन्द हुनै पर्छ हजुर११ कि तपाईंको कि हाम्रो। ४ वर्षअघि नै एड्भान्समा घन्टी बजाएर सचेत गराएको छु, सोच्नु होला।