सरकारलाई नै थाहा छैन माडी नगरपालिकामा कति वडा छन् !

सरकारलाई नै थाहा छैन माडी नगरपालिकामा कति वडा छन् !


चितवन ।

माडी नगरपालिकामा ९ वटामात्रै वडा छन् । २०७१ मंसिर १६ गते माडी उपत्यकाका ४ गाउँ विकास समितिलाई समाहित गरेर एउटा नगरपालिका बनाइएको हो ।

गर्दी, बघौडा, कल्याणपुर र अध्योध्यापुरी गाउँ विकास समितिलाई समाहित गरेर सो नगरपालिका बनाइएको थियो । सुरुआती समयमा ११ वडा सिफारिस गरिएको भए पनि पछि सरकारले ९ वडा कायम गरेको थियो ।

संघीय सरकारले आर्थिक वर्ष २०८०/८१ को बजेटमा वडा-१० लाई बजेट विनियोजन गरेको छ । माडी नगरपालिका वडा नम्बर १० तोकेर अर्थ मन्त्रालयले ससर्त अनुदानको बजेट पठाएको नगर प्रमुख ताराकुमारी काजी महतोले जानकारी दिइन् ।

उनले भनिन्, ‘माडीमा वडा १० छँदै छैन । तर १० लाख रुपैयाँ बजेट वडा नं १० भनेर छुट्टयाइएको छ ।’ कार्यक्रम नै तोकेर बजेट विनियोजन गरिएको उनले बताइन् ।

नगरपालिकालाई दिइएको बजेट भएको भए आवश्यकताअनुसार खर्च गर्न सकिने भए पनि तोकेर नै पठाइएपछि के गर्ने भन्ने अन्योलमा परेको उनको भनाइ छ । स्यालो ट्युवेल जडानका लागि रकम विनियोजन भएको नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत शेषकान्त पौडेलले जानकारी दिए ।

नगरपालिकामा नयाँ जनप्रतिनिधि आएसँगै पहिलो कार्यपालिका बैठकले माडीको बाँदरझुलालाई वडा नं १० बनाउन संघीय सरकारलाई सिफारिस गरेको छ । संघीय सरकारले निर्णय गरेको भने छैन ।

उनले भनिन्, ‘वडा सिफारिस गरिएको छ, तर निर्णय भइसकेको छैन, तर बजेट विनियोजन भएर आयो ।’ अब यो बजेटलाई के गर्ने भन्ने विषयमा संघीय सरकारसँग कार्यान्वयनका क्रममा समन्वय गरिने उनले बताइन् । बजेट आएको भए पनि वडाको विषयमा आधिकारिक जानकारी नआएको उनको भनाइ छ ।

माडीमा अन्तर सरकारी वित्तीय रकम रु ४७ करोड ५१ लाख बजेट आएको छ । त्यसमध्ये समानीकरण अनुदान १२ करोड १५ लाख, नेपाल सरकारको समानीकरण न्यूनतम अनुदान ३ करोड ५० लाख, समानीकरण सूत्रमा आधारित अनुदान ८ करोड १४ लाख, समानीकरण कार्यसम्पादनमा आधारित अनुदान ५१ लाख रुपैयाँ छ । ससर्त अनुदान ३० करोड ३६ लाख छ ।

संघीय सरकारले कृषि, स्वास्थ्य, शिक्षा, पर्यटन, पूर्वाधार, सामाजिक विकासलगायत क्षेत्रमा बजेट तोकेर पठाएको छ । विशेष कार्यक्रमअन्तर्गत २ कार्यक्रम वडा नै तोकेर पठाइएको उनले बताइन् ।