लेदो परेको स्लाइस र अखाद्य मदिरा बेच्ने व्यापारीलाई तिराइयो ४ लाख जरिवाना

लेदो परेको स्लाइस र अखाद्य मदिरा बेच्ने व्यापारीलाई तिराइयो ४ लाख जरिवाना


काठमाडौं ।

स्लाइस उत्पादन कम्पनी बरुण वेभरेजलाई काठमाडौं महानगरपालिकाले २ लाख रुपैयाँ जरिवाना गरेको छ ।

सो कम्पनीले उत्पादन गरेको स्लाइसमा अखाद्य वस्तु भेटिएपछि जरिवाना तिराइएको काठमाडौं महानगरपालिकाले जनाएको छ ।

बजार अनुगमनको क्रममा काठमाडौं महानगरपालिका–३२ स्थित कालिमाटीमा सञ्चालित एक पसलमा बेच्न राखिएको स्लाइसमा कालो लेदो पदार्थ भेटिएको महानगरले जनाएको छ ।

यस्तै प्याकिङ पछि भौतिक र रासायनिक दुवै रुपमा अनिवार्य गुणस्तर मापन गर्न समेत निर्देशन दिएको छ ।

यता महानगरपालिकाले वडा नं २६ स्थित देवदास मानन्धर सञ्चालक रहेको न्यू भिम स्टोरलाई २ लाख जरिवाना गरेको छ ।

आज बजार अनुगमनका क्रममा उक्त स्टोरले म्याद सकिएको मदिरा बिक्री गरेको पाइएपछि जरिवाना गरिएको महानगरको कृषि तथा पशुपन्क्षी विभागका प्रमुख डा अवधेश झाले जानकारी दिए ।

अनुगमनका क्रममा ठूलो परिमाणमा म्याद सकिएको मदिरा बिक्री गरेको फेला परेपछि बजार व्यवस्थापन तथा अनुगमन ऐन २०७७ को दफा ९ अनुसार कारबाही गरिएको प्रमुख झाको भनाइ छ ।