मधेस प्रदेशको सुरक्षा चुनौतीबारे छलफलमा जुटे गृहमन्त्री श्रेष्ठ

मधेस प्रदेशको सुरक्षा चुनौतीबारे छलफलमा जुटे गृहमन्त्री श्रेष्ठ


काठमाडौं ।

उपप्रधानमन्त्री एवं गृहमन्त्री नारायणकाजी श्रेष्ठ मधेस प्रदेशको समसामयिक सुरक्षा चुनौतीबारे छलफलमा जुटेका छन् ।

मधेसका आठै जिल्लाका प्रमुख जिल्ला अधिकारी र सबै सुरक्षा निकायका प्रदेश र जिल्ला प्रमुखहरूसँग रिपोर्टिङ लिइरहेको उनका प्रेस सल्लाहकार कमल गिरीले जानकारी दिए ।

उपप्रधानमन्त्री श्रेष्ठले महोत्तरीको बर्दिबासमा जारी अन्तर्क्रियात्मक बैठकमा यतिबेला प्रमुख जिल्ला अधिकारीहरूको रिपोर्टिङ लिइरहेका छन् । यसपछि सुरक्षा निकायका प्रमुखहरूको रिपोर्टिङ सुनेपछि उपप्रधानमन्त्री श्रेष्ठले आवश्यक सुझाव र निर्देशन दिने बताइएको छ ।

प्रमुख जिल्ला अधिकारीहरूले प्रदेशका कतिपय ठाउँमा धार्मिक सद्भाव बिथोल्ने तत्वहरू सक्रिय रहेको, मिटरब्याज नियन्त्रण कानुन र आयोग बने पनि त्यसलाई निरुपण गर्ने सन्दर्भमा गलत नियत भएका व्यक्तिबाट व्यवधान खडा गर्न खोजिएको, कतिपय पालिकाका जनप्रतिनिधिहरूको बेमेलले समेत सुरक्षा चुनौती खडा गरेको जस्ता विषयमा गृहमन्त्री श्रेष्ठलाई ध्यानाकर्षण गराएका छन् ।

भारतमा चुनाव नजिकिएकाले सीमा क्षेत्रमा तनाव बढ्न सक्ने तथा अवैध ओसारपसार र भारतीय गाडीको अत्यधिक प्रयोगले समेत सुरक्षा व्यवधान खडा गर्न सक्ने प्रमुख जिल्ला अधिकारीहरूको भनाइ छ । प्रशासनले सबै गैरकानुनी गतिविधिलाई प्रत्यक्ष र सूक्ष्म निगरानी गरिरहेको र सुरक्षा अवस्थालाई चुस्त राखिएको समेत उनीहरूको जिकिर छ ।

गृह मन्त्रालयका सचिव, प्रवक्ता, नेपाल प्रहरी र सशस्त्र प्रहरीका आइजी, राष्ट्रिय अनुसन्धान विभागका प्रमुख, नेपाली सेना मधेस प्रदेश प्रमुखलगायत व्यक्तित्वहरू बैठकमा सहभागी छन् ।