सनी हत्या प्रकरण : २ युवतीसहित ४ जना पक्राउ

सनी हत्या प्रकरण : २ युवतीसहित ४ जना पक्राउ


काठमाडौं ।

काठमाडौंको न्यूरोड मखन गल्ली स्थित सानो पशुपतिमा जात्रा हेर्न गएका किशोरको हत्या प्रकरणमा पक्राउ पर्नेको संख्या ४ पुगेको छ ।

काठमाडौं महानगरपालिका–२४ हनुमानढोका परिसर अगाडि ओखलढुंगा लिखु गाउँपालिका–४ घर भई हाल काठमाडौं क्षेत्रपाटी बस्ने १७ वर्षीय सनी कार्कीको धारिलो हतियार प्रहार गरी हत्या भएको घटनामा संलग्न रहेको अभियोगमा ४ जनालाई प्रहरीले पक्राउ गरेको हो ।

पक्राउ पर्नेहरूमा काठमाडौं महानगरपालिका–१९ घर भई हाल ललितपुर लुकुसी बस्ने २० वर्षीया सोनिया श्रेष्ठ खड्गी, ललितपुर महानगरपालिका–१९ एकान्तकुना बस्ने २२ वर्षीय सन्देश खड्गी, मकवानपुर हेटौँडा उपमहानगरपालिका–२ घर भई हाल काठमाडौँ महानगरपालिका–२४ बस्ने १९ वर्षीया भुमी मल्ल र ललितपुर गोदावरी नगरपालिका–५ घर भई हाल ललितपुर नागाबाहल बस्ने १९ वर्षीय अरबिन ठकुरी रहेका छन् ।

धारिलो हतियार प्रहारबाट सोमबार राति गम्भीर घाइते भएका कार्कीको मनमोहन कार्डियोथोरासिक भास्कुलर तथा ट्रान्सपलान्ट सेन्टर महाराजगंजमा उपचारको क्रममा मृत्यु भएको थियो ।

घटनाको अनुसन्धानको क्रममा घटनास्थलबाट भाग्न लागेको अवस्थामा सन्देश खड्गी र सोनिया श्रेष्ठ खड्गीलाई सोही दिन काठमाडौँ महानगरपालिका–२४ मखनबाट, भुमी मल्ललाई काठमाडौँ क्षेत्रपाटीबाट र अरबिन ठकुरीलाई ललितपुर महानगरपालिका–१६ बाट घटनामा प्रयोग भएको चक्कुसहित मंगलबार प्रहरीले पक्राउ गरेको हो ।

उनीहरू उपर काठमाडौं जिल्ला अदालतबाट म्याद थप अनुमति लिई प्रहरी वृत्त जनसेवाबाट थप अनुसन्धान भइरहेको छ ।