कोशी प्रदेशका मुख्यमन्त्रीले असोज २० गते विश्वासको मत लिने

कोशी प्रदेशका मुख्यमन्त्रीले असोज २० गते विश्वासको मत लिने


विराटनगर ।

कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले यही असोज २० गते विश्वासको मत लिने भएका छन् ।

कार्कीले यही २० गते विश्वासको मत लिने समझदारी बुधबार बसेको कार्यव्यवस्था परामर्श समितिको बैठकमा जुटेको हो ।

एमालेका प्रमुख सचेत रेवतीरमण भण्डारीले पनि सकेसम्म शुक्रबार यदि नभए शनिबार विश्वासको मतको कार्यक्रम हुनसक्ने बताएका छन् ।

संविधानको धारा १६८ को उपधारा ३ अनुसार कार्की गत भदौ २२ गते मुख्यमन्त्री बनेका थिए । संविधानअनुसार मुख्यमन्त्री भएको ३० दिनभित्र अर्थात् यही २० गतेभित्र कार्कीले विश्वासको मत लिइसक्नुपर्छ ।

नेपाली कांग्रेस र नेकपा माओवादी केन्द्रसहितको गठबन्धनबाट मुख्यमन्त्री नियुक्त भएका उद्धव थापाले विश्वासको मत लिँदा सभाध्यक्षको पनि मत खसेपछि सर्वोच्च अदालतले उनलाई पदमुक्त गरिदिएको थियो । त्यसपछि प्रदेशसभाको सबैभन्दा ठूलो दल नेकपा एमालेका नेता कार्की मुख्यमन्त्री भएका थिए ।