मकाउको किराना पसलमा नेपाली पासपोर्ट लिनेकाे लाइन

मकाउको किराना पसलमा नेपाली पासपोर्ट लिनेकाे लाइन


काठमाडौँ ।

चीनको स्वायत्त क्षेत्र मकाउको एक किराना पसलमा नेपाली राहदानी सजिलै बनाउन र नवीकरण गर्न सकिने खुलासा भएको छ ।

मकाउमा अहिले करिब ३५ हजार नेपाली बस्छन् भने हरेक महिना करिब १ हजारको हाराहारीमा नेपालीहरू घुम्न जाने गरेका छन् । तर, नेपाली नागरिकका लागि सरकारले एउटा कार्यालयसमेत राख्न सकेको छैन । त्यसको परिणाम राहदानी जस्तो संवेदनशील कागजात किराना पसलबाट वितरण गरिन्छ ।

मकाउमा नेपालको दूतावास छैन । मकाउ क्षेत्र हङकङस्थित नेपाली महावाणिज्यदूतावास अन्तर्गत पर्छ । नेपाल सरकारले मकाउलाई चीनको अर्को विशेष प्रशासनिक क्षेत्र हङकङमा रहेको नेपाली महावाणिज्यदूतावास अन्तर्गत हेर्दै आएको छ ।

सेवाग्रहीका निम्ति मकाउमा पनि प्रशासनिक कार्यालयको माग राख्न थालेको वर्षौं भए पनि अझैसम्म त्यसमाथि सुनुवाइ भएको छैन । परिणाम स्वरूप यहाँ बसोबास गर्ने नेपाली नागरिकले राहदानी नवीकरण गर्न चाहेमा वा कसैको राहदानी हराएमा वा अन्य कुनै कारणले अर्को राहदानी बनाउन चाहेमा सीधै मकाउस्थित हिमालय ट्रेडर्स किराना पसलमा पुग्छन् ।

गैरआवासीय नेपाली संघ (एनआरएनए) मकाउसँग समन्वय गरी महावाणिज्यदूतावासको घुम्ती टोलीले सन् २०२१ देखि गैरआवासीय नेपाली संघ (एनआरएन) अध्यक्ष भीमसेन श्रेष्ठको ‘हिमालय ट्रेडर्स’ नामक ग्रोसरी स्टोरबाटै सेवा प्रवाह गर्दै आएको हो ।

गत हप्ता जब यो पसलमा लामो लाइन देखेपछि मकाउ पुलिस पुग्यो, त्यसपछि अन्तर्राष्ट्रिय जगतमै यो स्तरको लापरबाही हुने गरेको खबर फैलियो । यो पसलको माथिल्लो तल्लामा एनआरएनको कार्यालय छ ।

महावाणिज्यदूतावासको नियम अनुसार पासपोर्टको फारम भर्दा र पासपोर्ट लिन आउँदा नागरिकता, राहदानी र ब्लुकार्ड (वर्क परमिट)को सक्कलै लिएर स्वयं व्यक्ति उपस्थित हुनुपर्छ ।

दूतावासले सक्कल कागजात अनिवार्य ल्याउनुपर्ने भने पनि पसलबाट फारम भर्दा कमिसन लिएर फोटोकपीकै भरमा सबै काम हुने गरेको खुलासा भएको छ ।

यस विषयमा हङकङस्थित नेपाली महावाणिज्यदूत आफू पन्छिँदै मकाउस्थित एनआरएन कार्यालयलाई यो जिम्मेवारी दिएको बताउँछन् । तर, एनआरएनको कार्यालय रहेको स्थानमा ठाउँको अभाव रहेकाले कार्यालयकै तल्लो तलामा रहेको किराना पसलबाट काम हुने गरेको भीमसेन श्रेष्ठ बताउँछन् । उनका अनुसार सम्पूर्ण प्रक्रिया पूरा भएपछि राहदानी वितरण मात्र उक्त पसलबाट गर्ने गरिएको छ ।

तर, किराना पसलबाटै यसरी खुलेआम राहदानीजस्तो संवेदनशील दस्तावेज बाँडिदा पनि हङकङस्थित महावाणिज्यदूतावास र नेपाल सरकारले कुनै प्रतिक्रिया जनाएका छैनन् ।

पछिल्लो समय सुन तस्करी प्रकरणमा पक्राउ परेका चिनियाँ नागरिकको नेपाली राहदानी र सुन तस्करीको नयाँ अड्डा बनेको हङकङबीचको सम्बन्धले पनि यो किराना पसलतर्फ पनि आशंका गर्नुपर्ने वातावरण बनाएको छ ।