सबै कुरामा सुगम बन्दै छ भरतपुर, ९३ प्रतिशत नागरिक खानेपानीकाे पहुँचमा

सबै कुरामा सुगम बन्दै छ भरतपुर, ९३ प्रतिशत नागरिक खानेपानीकाे पहुँचमा


भरतपुर ।

चितवनकाे भरतपुर महानगरपालिकाले अन्य पूर्वाधारसँगै स्वच्छ खानेपानीको पहुँच विस्तारमा उच्च प्राथमिकता दिएको छ । अहिले महानगरपालिकाभित्रका ९३ प्रतिशत बासिन्दाले स्वच्छ खानेपानीको उपयोग गरिरहेका छन् ।

पछिल्लो ६ वर्षमा महानगरपालिकाभित्र २६ ठुला आयोजना सञ्चालित छन् । कतिपय निर्माण सम्पन्न भइसकेका छन् भने कतिपय अन्तिम चरणमा पुगेका छन् ।

महानगरपालिकाले खानेपानी व्यवस्थापन बोर्ड, संघीय खानेपानी तथा ढल व्यवस्थापन आयोजना र प्रदेश सरकारको खानेपानी तथा सरसफाइ डिभिजन कार्यालयसँग मिलेर खानेपानीका आयोजना अघि बढाएको हो ।

महानगरपालिकाले दिएको जानकारीअनुसार ती आयोजनामा झन्डै ४ अर्ब रुपैयाँ लगानी भएकाे छ । अन्य ठुला आयोजनासमेत आउने चरणमा रहेका छन् ।

भरतपुर खानेपानी व्यवस्थापन बोर्डका कार्यकारी निर्देशक प्रजापति दाहालका अनुसार चालु रहेका आयोजना सम्पन्न हुँदै गर्दा ९७ प्रतिशत जनतामा खानेपानीको पहुँच पुग्ने छ । ६ वर्षअघिसम्म महानगरका ५७ प्रतिशत बासिन्दा मात्र खानेपानीको पहुँचमा थिए ।

त्यसो त महानगरपालिकाले मासिक ७ हजार लिटरसम्म खानेपानी प्रयोग गर्ने उपभोक्तालाई निःशुल्क उपलब्ध गराउन सुरु गरेको छ । चालु आर्थिक वर्षमा ३ करोड महानगरपालिकाले विनियोजन गरेको छ । यसबाट बोर्डका मात्रै झन्डै १२ हजार उपभोक्ता लाभान्वित भएका छन् ।

भरतपुरमा बोर्डसँगै उपभोक्ता समितिले खानेपानीको व्यवस्थापन गर्दै आएको छ । झन्डै ४० ठुला–साना उपभोक्ता समितिले खानेपानी व्यवस्थापन गर्दै आएका छन् ।

भरतपुर महानगरपालिका प्रमुख रेनु दाहालले भरतपुरमा शतप्रतिशत खानेपानी पुर्‍याउने गरी काम भइरहेको जानकारी दिइन् । हाल सञ्चालनमा रहेका आयोजना सम्पन्न हुँदै गर्दा आउँदो १ वर्षमा भरतपुरका ९७ प्रतिशत उपभोक्तामा पानीको पहुँच पुग्नेछ ।

उनले भनिन्, ‘हाम्रो दोस्रो कार्यकाल सकिनुपूर्व नै शतप्रतिशत उपभोक्तामा पानी पुर्‍याउँदै छौँ ।’ कतिपयले पहुँच पुगेको ठाउँमा पनि प्रयोग नगरेका कारण प्रतिशत कम भएको हो ।

शारदानगर खानेपानी आयोजनामा ५९ करोड, जखडीमाई सहलगानी खानेपानी आयोजनामा ३२ करोड ८५ लाख, धनगडा सहलगानी खानेपानी आयोजनामा २८ करोड ८८ लाख, पटिहानी–टाउन खानेपानी आयोजनामा २५ करोड २५ लाख, दिव्यनगर खानेपानी आयोजनामा २४ करोड १५ लाख र शिवनगर खानेपानी आयोजनामा २३ करोड २५ लाख रुपैयाँ खर्च हुने जनाइएको छ ।

त्यसैगरी भरतपुर खानेपानी आयोजना मर्मत सुधारमा ५ करोड ५८ लाख, सोही आयोजनाको विस्तारमा ११ करोड ३५ लाख, भरतपुर १० मा एउटै ट्यांकी ९ लाख लिटरको निर्माण गरिएको छ । जुन नेपालकै सबैभन्दा ठुलो हो ।

कैलाशनगर–फूलबारी खानेपानी आयोजनामा ८ करोड ४ लाख, आनन्दपुर खानेपानी आयोजनामा ६ करोड ६५ लाख, पटिहानी खानेपानी आयोजनामा ५ करोड ३५ लाख, मंगलपुर खानेपानी आयोजनामा ६ करोड ७६ लाख, गीतानगर खानेपानी आयोजनामा ४ करोड २७ लाख रुपैयाँ विनियोजन भई काम भइरहेकाे छ । कतिपय काम सम्पन्न भइसकेका छन् ।

पार्वतीपुर खानेपानी आयोजनामा २२ करोड ५ लाख, देवनगर खानेपानी आयोजनामा ५ करोड ५ लाख, मेघौली साना सहरी खानेपानी आयोजना १७ करोड २ लाख, शुक्रनगर खानेपानी आयोजनामा १८ करोड ७५ लाख, जगतपुर खानेपानी आयोजनामा २१ करोड ५ लाख, गोलाघाट खानेपानी आयोजनामा १४ करोड ७५ लाख, भरतपुर खानेपानी विस्तार वडा नं २९ मा १० करोड २ लाख, गुञ्जनगर खानेपानी आयोजनामा १६ करोड ३५ लाख, विजयनगर खानेपानी आयोजनामा ८ करोड ३ लाख र भरतपुर महानगरपालिका–१ मा १ करोड रुपैयाँ खानेपानी आयोजनामा खर्च गरिँदै छ ।

देवघाट खनोपानी आयोजना १ करोड २ लाख, चौकीडाँडा खानेपानी आयोजना ५ करोड ९५ लाख, ठिकुरा रामनगर ७२ लाख र ढोडेनी खानेपानी आयोजना १ करोड ५ लाखको लागतमा निर्माण भइरहेका छन् । गौरीगन्जमा झन्डै ४० करोड लागतमा नयाँ आयोजना अघि बढाइँदै छ ।

महानगरपालिकाका उपप्रमुख चित्रसेन अधिकारीले खानेपानी विस्तारको आयोजना तीव्र गतिमा अघि बढेको बताए । उनले पहाडी र समथर भू–भाग सबै ठाउँमा पानीको पहुँच पुर्‍याउने काममा महानगर लागिपरेको बताए ।

उनले भने, ‘जनप्रतिनिधि आएपछि खानेपानी विस्तारमा भरतपुर अग्रणी छ ।’ महानगरपालिकाको पहलमा प्रदेश र संघीय सरकारले खानेपानी विस्तारमा सहयोग गरेको उनले बताए ।

खानेपानीमा सहज पहुँच पुग्न कठिन भएको रामनगर क्षेत्रमा महानगरले अहिले अस्थायी रूपमा खानेपानी उपलब्ध गराएको छ । दीर्घकालीन आयोजना संघीय सरकारमार्फत् अघि बढाउन गुरुयोजना बनिरहेको महानगरले जनाएको छ । रासस