सर्वोच्चले सरकारसँग माग्यो गुण्डा नाइके रिगलको कैद मिनाहा गर्नुको कारण

सर्वोच्चले सरकारसँग माग्यो गुण्डा नाइके रिगलको कैद मिनाहा गर्नुको कारण

७ दिनभित्र लिखित जवाफ पेश गर्न विपक्षीहरूलाई आदेश


काठमाडौं ।

सर्वोच्च अदालतले योगराज ढकाल (रिगल)को कैद मिनाहा गर्ने सरकारी निर्णयविरूद्ध परेको रिटमा कारण देखाउ आदेश जारी गरेको छ।

बिहीबार न्यायाधीश मनोजकुमार शर्माको इजलासले ७ दिनभित्र लिखित जवाफ पेश गर्न विपक्षीहरूलाई आदेश दिएको छ।

बाँकेका चेतन मानन्धरकी पत्नी भारती शेर्पाले दिएको रिटमा अर्को सुनुवाइको पेशी असोज २५ गतेलाई तोक्न पनि आदेश गरेको छ।

सर्वोच्च अदालतका प्रवक्ता भद्रकाली पोखरेलका अनुसार यो रिटलाई अग्राधिकारमा राखेर सुनुवाइ गर्न आदेश दिएको छ।

अग्राधिकार भनेको त्यो दिनको पेशी सूचीमा पहिलो प्राथमिकतामा राखेर सुनुवाइ गर्नु हो।

रिगललाई संविधान दिवसको दिन तुलसीपुर कारागारबाट छुटेका थिए। सरकारको सिफारिसमा राष्ट्रपति रामचन्द्र पौडेलले कैद मिनाहा गरेपछि उनी कैद मुक्त भएका थिए।

०७५ भदौ अघिको घटना भए ४० प्रतिशत र त्यसपछिको घटना भए ५० प्रतिशत कैद सजाय भुक्तान गरेको कैदीलाई जेलमा असल चालचलन देखाएमा बाँकी कैद छुट दिने कानुनी व्यवस्था रहेको भन्दै सरकारले आममाफीका लागि राष्ट्रपतिसमक्ष सिफारिस गरेको थियो।