हिमताल फुटेर सिक्किममा बाढी : मृत्यु हुनेकाे संख्या ४० पुग्याे

हिमताल फुटेर सिक्किममा बाढी : मृत्यु हुनेकाे संख्या ४० पुग्याे


भारतको उत्तरपूर्वी क्षेत्रमा हिमताल फुटेर आएको बाढीबाट कम्तीमा ४० जनाको मृत्यु भएको अधिकारीहरूले बताएका छन् । भारतीय सेनाले बाढीमा फसेका हजारौँको हेलिकोप्टरमार्फत उद्धार गर्ने योजना बनाएको छ ।

उच्च हिमाली भूभागमा अचानक हिमताल विष्फोट भएपछि बुधबार सिक्किम राज्यको दुर्गम क्षेत्रमा हिंसात्मक बाढी आएको थियो । जलवायु विज्ञहरूले विश्वव्यापी तापक्रम बढिरहँदा र हिउँ पग्लिन थालेसँगै यस्तै किसिमका विपत्तिहरू हिमालय क्षेत्रभर बढ्दो खतरा बन्ने चेतावनी दिएका छन् ।

पानीको बहाव बंगालको खाडीतिरको ग्रामीण इलाकामा बढ्न थालेपछि उद्धारकर्मीहरूले राति थप शव फेला पारेका हुन् ।

सिक्किम राज्यका उच्च अधिकारी भिबी पाठकले भने, ‘अहिलेसम्म १९ वटा शव फेला परेका छन् ।’

छिमेकी राज्य पश्चिम बंगालका एक जिल्ला मजिस्ट्रेट शामा प्रवीणले आफ्नो राज्यमा पछिल्लो ३ दिनमा थप २१ शव फेला परेको जानकारी दिए ।

सिक्किम राज्य सरकारका अनुसार विद्यालय, सरकारी कार्यालय र गेस्टहाउसहरूमा स्थापना गरिएका राहत शिविरहरूमा करिब ८ हजारले आश्रय लिएका छन् ।