स्थानीय तहका कर्मचारीले गरे ‘पेन डाउन’

स्थानीय तहका कर्मचारीले गरे ‘पेन डाउन’


स्याङ्जा ।

विभिन्न माग राखेर आन्दोलनमा उत्रिएका स्थानीय तहका कर्मचारीले शुक्रबारदेखि ‘पेन डाउन’ गरेर विरोधमा उत्रेका छन् ।

स्याङ्जाका ११ वटै स्थानीय तहका कर्मचारीले शुक्रबार हातमा कालो पट्टी बाँधेर अत्यावश्यक कामबाहेक सेवा ठप्प गरेर आन्दोलनमा उत्रिएका हुन् । पालिकाको मूल गेटमा कालो ब्यानरमा विरोध जनाउँदै हातमा प्लेकार्ड बोकेर आफ्ना माग पूरा गर्न सरकारलाई दबाब दिएका छन् ।

शुक्रबार स्याङ्जाका ९७ वटै वडा र ११ वटै पालिकाबाट कुनै सेवा प्रवाह नभएको स्थानीय तह कर्मचारी संघर्ष समिति स्याङ्जाले जनाएको छ ।

सामान्य सिफारिससमेत स्थानीय तहका कर्मचारीले नगरिदिएपछि सेवाग्राही मर्कामा परेका छन् । उनीहरूले एकीकृत निजामती सेवा ऐन जारी गर, अस्थायी तथा करारका कर्मचारीको उचित व्यवस्थापन गर, अन्तरप्रदेश सरुवा लागू गर, तीनै तहका कर्मचारीलाई निजामती परिभाषामा समावेश गर भन्दै पालिकाका मूल गेटमा नाराबाजी गरेका थिए ।

स्थानीय तह कर्मचारी केन्द्रीय संघर्ष समितिले घोषणा गरेबमोजिम शुक्रबारबाट अनिश्चितकालीन सेवा प्रवाह ठप्प पारेर आन्दोलनमा उत्रन बाध्य भएको वालिङका संयोजक भुवानी तिवारीले बताए । ‘केन्द्रीय समितिले सबै कर्मचारीलाई काठमाडौँ केन्द्रित हुन आह्वान गरेको छ,’ उनले भने, ‘केन्द्रमा पुग्न नसक्ने साथीहरूले आ–आफ्नो स्थानीय तहमा आन्दोलन कायम राख्ने निर्देशन छ ।’

स्याङ्जाका स्थानीय तहका कर्मचारीहरूले प्रमुख जिल्ला अधिकारीमार्फत समेत प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ लाई ज्ञापनपत्र पठाइसकेका छन् । सरकारले आफ्ना माग सम्बोधन नगरेमा अझै थप कडाइका साथ आन्दोलनमा उत्रिने चेतावनी उनीहरूको छ ।

वडा तह र पालिका स्तरबाट हुने सिफारिसदेखि अन्य सेवा प्रवाह ठप्प हुँदा सेवाग्राही ठुलो मर्कामा परेका छन् भने प्रशासन, मालपोत कार्यालयमा समेत काम ठप्प जस्तै हुन पुगेको छ ।